भैरहवा, १५ पुस ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सडक खाना महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले पर्यटनको विकासमा टेवा पुग्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
शनिबारदेखि रुपन्देहीको बुटवलमा सुरु भएको पाँचौ बुटवल सडक खाना महोत्सव–२०८० को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले पर्यटकलाई हैरान नगर्न आग्रह गरे । उनले पर्यटकलाई सेवा तथा सत्कार गरी बढी पर्यटक भित्र्याउन सकिने बताए । उनले भने, ‘प्रकृतिले नै नेपाललाई पर्यटनको देश बनाएको छ । पर्यटनको माध्यमबाट मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ । बनाउनुपर्ने के छैन । केवल व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।’ बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशलाई विश्वमै पर्यटनको प्रदेशको रुपमा चिनाउन सकिने उनले बताए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सकारात्मक सोचका साथ कुनै कुरा शुभारम्भ गरे निश्चित रुपमा हरेक क्षेत्रलाई विकसित गर्न सकिने उल्लेख गरे । तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए । मन्त्री पाण्डेयले भने, ‘अहिले पनि हामी परनिर्भरताबाट माथि उठन् सकेका छैनौं । ’ उनले निराशाजनक कुरा मात्र गरेर नहुने र एक–अर्कासँग सहकार्य गर्दै अघि बढ्न आग्रह गरे ।
उनले बुटवललाई आर्थिक राजधानी बन्नबाट कसैले रोक्न नसक्ने दावी गरे । विगतमा बुटवललाई राजधानी बनाउनुपर्छ भन्ने पक्षमा रही आफूले पार्टीको ह्वीप तोडेर समेत बुटवलको पक्षमा मतदान गरेको उनले बताए ।
‘नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारीको सृजना हाम्रो अभियान’ भन्ने नारासहित शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव सुरु भएको हो।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवल–२ स्थित कालिकापथमा सुरु भएको महोत्सवकोे प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गरेका र्थिए । सो अवसरमा बोल्दै सांसद् घिमिरेले रुपन्देही पर्यटन विकासको उर्भरभूमि भएकाले यहाँका होटेल चले सरकारलाई राजस्व संकलनमा टेवा पुग्ने बताए । महोत्सव पुस १६ गतेसम्म चल्नेछ ।