
आइतवार , पौष १५, २०८०
भैरहवा, १५ पुस ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले भारतीय पर्यटकलाई हैरान नपार्न आग्रह गरेका छन् । उनले पर्यटकीय स्थलहरुलाई व्यवस्थित गर्दै आर्थिक समृद्धिका लागि बढी संख्यामा नेपाल भित्र्याइने बताए ।
शनिबार भैरहवामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा बोल्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘प्रहरी मित्रहरुलाई मैले विभिन्न कार्यक्रमका माध्यमले भनेको छु, तपाईहरुले भारतीय पर्यटकहरुलाई नेपाल ल्याउने बेलामा हरेक ठाउँमा हैरानी पार्ने काम नगर्नुस् ।’
मन्त्री पाण्डेयले गाडीको सुविधा बनाएका भारतीय पर्यटकलाई कम्तीमा सिद्धबाबा, लुम्बिनी, तिलौराकोट र रामग्रामसम्म पुग्ने व्यवस्था मिलाउने बताए । उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनुपर्छ । अब गौतमबुद्धको नाममा आउने डलरले काठमाडौंको मात्र नभइ लुम्बिनी र मधेशको पनि विकास हुनुपर्छ । म पहिला यहाँहरुको परिवारको सदस्य र त्यसपछि बल्ल मन्त्री हुँ । ’
उनले काठमाडौंलाई मात्र नेपाल नबुझ्न आग्रह गर्दै बुद्ध जन्मस्थल लुम्बिनी र मर्चवार पनि नेपालमा रहेको बुझ्न आग्रह गरे ।
लुम्बिाी प्रदेश सरकारका प्रवक्ता तथा लोसपा लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका पाण्डेयले सकारात्मक सोच नै अहिले विश्वका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले यो समाजलाई नकारात्मक दिशातर्फ लैजाने काम नगर्न आग्रह गरे । नेपाल मात्र नभइ विश्व नै आर्थिक मन्दीको चपेटामा परेको भन्दै निराशाका कुरा मात्र नगर्न उनको आग्रह छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij