२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

लुम्बिनी एक्स्पोमा दर्जनौं वृद्धवृद्धालाई सम्मान

आइतवार , पौष १५, २०८०

बुटवल, १५ पुस ।
रुपन्देही व्यापार संघले आयोजना गरेको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा आइतबार दर्जनौं वृद्धवृद्धालाई सम्मान गरेर समाज सेवामा नयाँ सन्देश दिएको छ । आइतबार मेला सञ्चालन भइरहेको अवस्थामा संघले विभिन्न क्षेत्रका तीन दर्जन वृद्धवृद्धालाई सम्मान गरेपछि सहभागी, स्टलधनी सबै आश्चर्यमा परेका छन् । संघले रुरु मिलन केन्द्र शंकरनगरको पहलमा ३० वृद्ध महिला तथा पुरुषलाई संघले दोसल्ला ओढाएर सम्मान गरेर नयाँ कामको थालनी गरेको हो । 

आइतबार बिहानै वृद्धवृद्धाहरुलाई लिएर उनीहरुका आफन्त मन्चको सेरोफेरामा पुगेका थिए । स्टलधनी र अन्य सहभागीहरुलाई यो बिहानमा लौरो टेक्दै गरेका बृद्धबृद्धालाई किन ल्याइएको होला भनेर लागिरहेको थियो । एकछिनमा संघका महासचिव दयानिधि भण्डारीले कार्यक्रम सञ्चालन गर्न मन्चमा पुगेर भने, ’हामीले अग्रज बुवाआमाको सम्मानका लागि यहाँ उहाँहरुलाई बोलाएका छौं, पहिलो चरणमा करिब ३ दर्जन बुवाआमालाई सम्मान गरेर यो कामको थालनी गरेका छौं । ’ भण्डारीले बृद्ध अवस्था हुनु कुनै पाप नभएर प्राकृतिक नियम भएको र घर, सामाज तथा राष्ट्रले बृद्धबृद्धालाई हेय दृष्टिकोणले हेर्न नहुने धारणा राख्दा सहभागी सबैलाई मनिल बनाएको थियो । 

उनले यो भन्दै गर्दा मन्चमा संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, पूर्वअध्यक्षहरु मोतिप्रसाद पाण्डे, पदमप्रसाद श्रेष्ठ, संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे पुगिसकेका थिए । महासचिव भण्डारीले लामो नगरी वृद्धवृद्धाको नाम बोलाए केही आफै गए, केहीलाई उनीहरुका आफन्तले मन्चमा पुराए । उनीहरुलाई मन्चमा रहेका पूर्वअध्यक्षहरु तथा वर्तमान अध्यक्षले पालैपालो सम्मान गर्दा सम्मानित वृद्धवृद्धा निकै खुसी देखिन्थे ।

संघका अध्यक्ष घिमिरेले वृद्धवृद्धाहरुको संरक्षणमा संघले आर्थिक सहयोग गर्ने घोषणा गर्दै समाजमा रहेका वृद्धवृद्धाहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्ने उद्देश्यले यो कार्यक्रम थालिएको जनाए । उनले धेरै परिवारमा वृद्धवृद्धाहरुलाई हेला गर्ने बानीको विकास भएकाले त्यसले समाजलाई गलत लैजाने र हाम्रो संस्कार समेत बिगार्ने चिन्ता बढको बताए । 

संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा बुटवलमा जारी लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा २ दिनमा ३ लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मेला सञ्चालन भएको १० औं र ११ औं दिनमा सार्वजनिक विदा परेका कारण मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका थिए ।

प्रदर्शनीस्थल बुटवल मण्डपको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको क्षेत्र अवलोकनकर्ताहरुले भरिभराउ भएको थियो । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज प्रवेश र निकास र प्रवेशद्वारहरु पनि थप गरिएको थियो। 
मेला सचिवालयका अनुसार प्रदर्शनी स्थलमा २ दिनमा करिव ३ लाख दर्शकहरु अवलोकनका लागि आएको अनुमान गरिएको छ । सार्वजनिक विदा परेका कारण मेला हेर्न विद्यार्थी तथा अभिभावकहरु तथा कार्यालयहरुमा काम गर्ने दर्शकहरुसँगै महिलाहरुको अत्याधिक आएको थिए ।