
सोमवार , पौष १६, २०८०
बुटवल, १६ पुस ।
ओम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल, रुपन्देहीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजेन्द्र ढकालले सहकारीले स्थापनाको दोस्रो वर्षमा आइपुग्दा धेरै सफलता प्राप्त गरेको बताए । थोरै सेयर सदस्यबाट स्थापना भएको यो सहकारीमा हाल २५० भन्दा बढी सदस्य रहेको उनले बताए । अहिले सहकारीले पाँच करोड भन्दा माथिको आर्थिक कारोबार गरिरहेको उनको भनाइ थियो ।
बुटवलमा केन्द्रिय कार्यालय रहेको यो सहकारीले भैरहवामा शाखा कार्यालयको स्थापना गरी आर्थिक कारोबार गरिरहेको उनले जानकारी दिए । सहकारीलाई बैंक सरहको आधुनिक वित्तीय सेवाहरुको प्रयोग गर्ने गरी यसको सेवा दिने तयारीमा रहेको उनले बताए ।
सोही अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले सहकारीले स्थापनाको छोटो समयमा राम्रो प्रगति गरेको बताइन् । उनले सहकारीले कृषिको क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीको स्थापना गरी युवाहरुलाई कृषिसँगै सीपमूलक क्षेत्रमा जोडन आग्रह गरिन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार मेघनाथ खनाल, राजु प्रसाद ढकाल, युवराज राना, बुटवल उद्योग पाणिज्य संघका उपाध्यक्ष बिमलराज भट्टराई, सहकारी संस्थाका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, बुटवल शाखाका प्रमुख लिला खनाल, भैरहवा शाखाका प्रमुख सरोज ठकुरी, लेखा समिति सदस्य भुवनेश्वर घिमिरे, कोषाध्यक्ष मदन आचार्य लगायतले मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षता तथा सचिव लक्ष्मण सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij