२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

डिजेल टंकीमा नुन खन्याएर ट्याक्टरमा क्षति पुर्‍याउनेमाथि छानबीन र कारवाहीको माग

बुधवार , पौष १८, २०८०

रुपन्देही, १८ पुस । 
गुल्मीमा पार्किङमा राखेको ट्याक्टरको डिजेल टंकीमा अज्ञात व्यक्तिले नुन राखिदिएपछि टेक्टर बिग्रिएर ट्याक्टरधनीले ठूलो क्षति व्यहोर्नुपरेको छ । रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित चौतारामा पार्किङमा राखेको लु ४ त ५५७ नम्बरको ट्याक्टरको डिजेल टंकीमा अज्ञात व्यक्तिले नुन खन्याइदिएपछि टेक्टर स्टार्ट नहुने भएको टेक्टरधनी माधव खड्काले बताए ।

ट्याक्टर स्टार्ट नभएपछि राजेन्द्र श्रेष्ठको ट्रकमा राखेर बुटवल मैनाबगर अटो भिलेजस्थित देवसिद्ध अटोमोबाइल्स प्रा.लि.मा ल्याएर चेकजाँच गर्दा कसैले डिजल टंकीको ढक्कन खोलेर कम्तीमा एक पोका नुन खन्यादिएको पाइएको खड्काले बताए ।

देवसिद्ध अटोमाबाइल्स प्रा.लि.का सञ्चालक कमल अर्यालले नुनले टेक्टरको डिजल टंकीमा ठूलो क्षति पुर्याउने र पुरानै अवस्थामा ल्याउन करिब डेढलाख रुपैयाँ लाग्ने बताए । यस्तो कार्य अपराधिक मानसिकता भएका व्यक्तिले मात्रै गर्ने अर्यालले बताए । ट्रकमा राखेर ट्याक्टर ढुवानी गरी बुटवल ल्याउँदा पनि हजारौं खर्च भएको खड्काले बताए ।

काम गरेर गुजारा गर्नुपर्ने मान्छेलाई यसरी योजनाबद्ध ढंगले गरीखाने साधन बिगारिदिने घटनामा संलग्न व्यक्तिलाई पहिचान गरी कानून बमोजिम कारवाही गरी न्याय दिन खड्काले छानबीनको माग गर्दै प्रहरीमा निवेदन दिने बताए । आगामी दिनमा यस्तो बदमासी र आपराधिक काम कसैलाई गर्न नदिन प्रहरीले दोषीलाई पत्ता लगाई कारवाही गर्नेमा आशावादी रहेको खड्काले बताए ।