
आइतवार , माघ २५, २०७७
तिलोत्तमा, २५ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीको आइतबार बसेको विस्तारित बैठकले आगामी फागुन १ गते बुटवलमा हुने जनसहभागिताका लागि उल्लेख्य सहभागिता गराउने निर्णय गरेको छ ।
जनसहभागिताका लागि तिलोत्तमा नगर अन्तर्गत १७ वटै वडाबाट गरी साढे १६ हजार जनता सहभागि गराउने निर्णय गर्दै बैठकले यसका लागि प्रत्येक शाखा कमिटीहरुलाई जिम्मेवारी बाँडफाँड गरेको नगर अध्यक्ष मोहन चापागाईंले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य दधिराम न्यौपानेले पार्टीको एकथरी समूहले जनतामा छरेको भ्रम चिर्नुपर्नेमा जोड दिंदै फागुन १ गते बुटवलमा हुने जनसभाले प्रधानमन्त्रीले चालेको कदम सही सावित हुने बताए । प्रतिनिधिसभा विघटनको अवस्थामा पुर्याउने दाहाल–नेपाल समूह अहिलेको परिस्थितिको मुख्य दोषी रहेको भन्दै उनले अब ताजा जनादेशको विकल्प नभएको बताए ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवं बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा आयोजना हुने जनसभामा एक लाख भन्दा बढी सहभागी हुने भन्दै अब देश चुनावतर्फ उन्मुख भएको बताए ।
बैठकमा नगर अध्यक्ष चापागाई, नगर कार्यालय सचिव मिन प्रसाद पोखरेल लगायतले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij