
शनिवार , पौष २१, २०८०
भैरहवा, २१ पुस ।
मोबाइल व्यवसायी संगठन, रुपन्देहीको प्रथम अधिवेशन तथा साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले बैजनाथ गुप्ता (बी.एन.) को अध्यक्षतामा दुईवर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । गुप्ता संगठनको तदर्थ समितिको अध्यक्ष समेत हुन् ।
त्यस्तै संगठनको उपाध्यक्षमा हरि बहादुर पाण्डे, महासचिवमा राजकुमार गुप्ता हलुवाई, सचिवमा सन्तोष कुमार नाउ, सहसचिवमा प्रविन गैरे, कोषाध्यक्षमा श्याम प्रकाश गुप्ता र सह–कोषाध्यक्षमा दिनेश गुप्ता निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रख्यात बन्जाडेले बताए ।
त्यसै गरी सदस्यहरुमा दीपक पौडेल, जसवन्त धवल, सत्यम कलवार, पुरुषोत्तम केसरी, रमेश यादव र मोहम्मद रसिद मुसलमान निर्वाचित भएका छन् ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य मनिष कुमार जोशीले संगठनको महत्वबारे बुझ्नुपर्ने जरुरी रहेको बताए । उनले बिना टीमको संगठन नबन्ने र मोबाइल व्यवसायी संगठन रुपन्देहीको टीम बलियो रहेको बताए । उनले भने, ‘संगठनको कार्ययोजना आवश्यक छ, बिना योजना संगठन अघि बढ्न सक्दैन । हामीले एक अर्काको प्रतिष्पर्धी ठानेर भन्दा पनि मित्रताको भावनाका साथ अघि बढ्नुपर्छ ।’
त्यस्तै मोबाइल व्यवसायी संगठन रुपन्देहीका वरिष्ठ सल्लाहकार ग्रिसचन्द्र त्रिपाठीले खुल्ला सीमाका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए । उनले नेपाली उपभोक्ता सस्तो पाइने नाममा सीमापारी बजार पुगेर मोबाइल खरिद गर्दा स्वदेशी बजारमा असर पुगेकाले उपभोक्तामा जागरुकता आवश्यक रहेको बताए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यवाहक अध्यक्ष कमल रायमाझीले संकट र समस्या पर्दा संस्थाको साथ आवश्यक पर्ने भएकोले एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले भारतबाट अवैध रुपमा मोबाइल नेपाल भित्रिदा नेपाली व्यवसायी मर्कामा परेकाले गलत काम गर्ने व्यक्तिको कुनै व्यवसायीले पनि संरक्षण गर्न नहुने बताए ।
मोबाइल व्यवसायी संगठन, रुपन्देहीका नवनिर्वाचित अध्यक्ष बैजनाथ गुप्ताले संगठनले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको बताए । उनले मोबाइल पसलमा समयसमयमा चोरी हुँदा व्यवसायी मर्कामा परेको बताए । चोरीमा संलग्न व्यक्तिहरुलाई व्यवसायीले समातेर प्रहरीलाई बुझाएको बताए । उनले भने, ‘खुल्ला सीमा नाकाका कारण व्यवसाय सञ्चालनमा समस्या परेको छ । ’
सिद्धार्थ सञ्जाल, रुपन्देहीका कार्यसमिति सदस्य हरिश सेठियाले व्यवसाय सञ्चालन गर्दा धेरै कुराको ज्ञान आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा संस्थामा रहेर योगदान पुर्याएको भन्दै मोबाइल व्यवसायीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संगठनका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रख्यात बन्जाडेले सपथग्रहण गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij