
आइतवार , पौष २२, २०८०
तिलोत्तमा, २२ पुस ।
ट्रेक्टर व्यवसायीहरुले टेक्टर नामसारी गर्न ६ वर्षको समय तोकिएकोमा असहमति जनाउँदै ऋण भुक्तानी हुनासाथ नामसारी गर्न पाउनुपर्ने माग गरेका छन । व्यवसायीहरुले ट्रेक्टरले कृषि र गैरकृषि दुवैमा निर्वाध रुपमा काम गर्न पाउनुपर्ने, भारबाहन क्षमताको आधारमा ढुवानी गर्न पाउनुपर्ने र ट्रलीलाइ ट्रेक्टरको अंगको रुपमा मान्यता दिनुपर्ने माग गरे ।
लुम्बिनी ट्रेक्टर समिति तिलोत्तमा नगरपालिका–९ शंकरपुर, रुपन्देहीको शनिबार सम्पन्न २१ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमा बोल्ने ट्रेक्टर व्यवसायीहरुले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा ट्रेक्टरको वार्षिक कर बढी भएकाले पुनरावलोकन गरी घटाउन माग गरे । उनीहरुले नदीको संरचना नबिगरिने गरी ट्रेक्टरले नदीजन्य पदार्थ निकासी गर्ने व्यवस्था मिलाउन जिल्ला समन्वय समिति र स्थानीय तहसँग आग्रह गरेका छन् ।
साधारणसभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ट्रेक्टर व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने बताए । उनले ट्रेक्टर व्यवसायीका समस्या रुपन्देहीका १६ वटा पालिका र जिल्ला समन्वय समितिसँग सम्बन्धित भएकाले समन्वय समिति र पालिकाहरुसँग समन्वय गरेर समाधानका लागि पहल गर्ने बताए ।
तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरी देवी चौधरीले व्यवसायीका समस्याप्रति नगरपालिका संवेदनशील रहेको र समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताइन् ।
साधारणसभामा ट्रेक्टर समितिका अध्यक्ष स्वयमबन्धु कार्कीले कुनै व्यवसायीले ट्रेक्टर खरिद गर्न चाहेमा भन्सार तिरेर ल्याउन पाउनुपर्ने माग गरे । उनले नदीजन्य पदार्थको ढुवानी खुल्ला नहुनु र ट्रेक्टरको बीमा गर्दा हलो, ट्रली र रोटाभेटरको पनि बीमा हुनुपर्ने माग गरे ।
कार्यक्रममा नेपाल टे«क्टर महासंघका अध्यक्ष खेम गौतम, पूर्वअध्यक्ष प्रदिप प्रसाद उदय, समितिका सल्लाहकार उदय गुरुङ्ग, समितिका संस्थापक सदस्य ज्योती अर्याल, नेपाल किसान ट्रेक्टर समिति कपिलवस्तुका अध्यक्ष शंकर पौडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका कोषाध्यक्ष विष्णु भण्डारी, तिलोत्तमा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष विष्णु बराल लागायतले आ–आफ्ना भनाइ राखेका थिए । समितिका उपाध्यक्ष टिकाराम गौतम र महासचिव सुरेश कुमार पौडेलले पनि व्यवसायीका समस्याका बारेमा बोलेका थिए ।
यसैबीच ट्रेक्टर समितिको १७ सदस्यीय नयाँ नेतृत्वका लागि पुस २८ गते निर्वाचन हुँदैछ। १९ गते भएको मनोनयन दर्ताका क्रममा १७ पदका लागि ३५ जनाको मनोनयन दर्ता भएको निर्वाचन सयोजक उदय बहादुर गुरुङले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij