२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

समग्र विकासका लागि संघीयता : मन्त्री पाण्डेय

आइतवार , पौष २२, २०८०

भैरहवा, २२ पुस ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले समग्र विकासका लागि संघीयताको स्थापना भएको बताएका छन् । उनले केन्द्र सरकारको सबै ठाउँमा दुष्टि पुग्न नसकेर संघीय व्यवस्था निर्माण भएको बताए ।

भैरहवा वितरक संघ, रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘केन्द्र सरकारको दृष्टि मर्चवारको तरैनी र बाँकेको नरैनापुर गाउँपालिकासम्म पुग्न नसकेकोले संघीयता आएको हो । प्रदेश, स्थानीय पालिका र वडास्तरमा केन्द्र सरकारको दृष्टि पुग्छ, विकासका लागि सहज हुन्छ र अन्तिम गाउँ/घरसम्म विकास पुग्छ भन्ने उद्देश्यले संघीयता स्थापनाको उद्देश्य हो ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रदेश सरकारलाई धेरै अधिकार प्राप्त नभएको बताए । उनले निश्चित रुपमा अधिकार प्राप्त हुने दिनमा प्रदेशले पनि आफ्नो उपस्थिति बलियो बनाउने र प्रदेश हुनैपर्छ भन्ने मान्यता कायम गराउने बताए ।

उनले वितरण प्रक्रियालाई मिलाउनुपर्ने आवश्यकता औल्याए । पालिकास्तरमै वितरक राखिनुले सन्तुलन बिग्रने उनले बताए । ‘पालिकास्तरमा विकासका कामलाइ विकेन्द्रीकरण गर्ने हो, सबै कुरा टोलटोलमा बाँड्ने होइन । विकट गाउँमा सेवा पुग्नुपर्छ सामान पनि वितरण हुनुपर्छ । तर, त्यसले अस्वस्थ प्रतिष्पर्धा हुनुभएन, ’उनले भने । यसबारे कम्पनीहरुसँग बसेर छलफल गरिने उनले बताए । वितरण प्रणाली वडाअध्यक्षको चुनाव नभएको र गाउँ कमिटी जस्तो नबनाउन उनले आग्रह गरे ।

मन्त्री पाण्डेयले सकारात्मक सोचका साथ अघि बढे निश्चित रुपमा लक्ष्य प्राप्त गर्न सकिने बताए । उनले गौतमबुद्ध विश्वमै शान्तिको सन्देश फैलाउन सफल भएको बताए । उनले भने, ‘जुन देशमा नेता र कर्मचारी आर्थिक रुपमा सम्पन्न हुनुपर्छ भन्ने मान्यता राखेर अघि बढ्छन् त्यो देश कहिल्यै पनि आर्थिक रुपमा सम्पन्न हुन सक्दैन । ’ देशको नेतृत्व गर्ने व्यक्तिहरुले यो कुरा बुझ्नुपर्ने आफ्नो मान्यता रहेको बताए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले व्यवसायी सधैभरी आशावादी भएको बताए । उनले भोली व्यापार व्यवसाय ठीक हुन्छ भनेर नै व्यवसायीले लगानी गरेको बताए । उनले अहिलेको परिस्थित ठीक नरहेको र खुल्ला सीमाका कारण स्वदेशी व्यवसाय मर्कामा परेको बताए ।

शहीद जितेन्द्र–मणि स्मृति प्रतिष्ठानका अध्यक्ष तीर बहादुर रोकाय (डार्बिन)ले कुनै पनि व्यवसाय र क्षेत्र संघर्ष बिना अगाडि बढ्न नसक्ने बताए । उनले भैरहवा क्षेत्रको विकासका लागि के गर्न सकिन्छ त्यसतर्फ आफू तत्पर रहेको बताए ।

चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले राष्ट्रिय उत्पादनलाई राज्यका निकायले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा व्यवसायमैत्री नीति बन्न नसकेको गुनासो गरे ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले अहिले आर्थिक मन्दीको सामना गर्नुपरे पनि सधैभरी यस्तो अवस्था नरहने बताए । उनले अहिलको अवस्थामा पेशा, व्यवसायलाई बचाइराख्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, मान्छे जुन पेशामा छ, त्यसमा प्रतिवद्ध भएर लाग्नुपर्छ ।
मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।

भैरहवा वितरक संघका संस्थापक सल्लाहकार तथा नेपाल वितरक संघ लुम्बिनी प्रदेशका अध्यक्ष मनिष कुमार जोशीले मापदण्ड अपनाएर वितरण प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनले कतिपय व्यवसायी पेशा छोडेर विदेश जानुपर्ने परिस्थिति भएकाले पेशालाई सुरक्षित र मर्यादित बनाउनुपर्ने बताए ।

उनले पालिकापिच्छे वितरक थप्दै जानुले समस्या निम्त्याएको बताए । ‘विक्री गर्ने बजार अत्यन्तै सानो छ, सबैले यही विक्री गर्नुपरेको छ । यसले व्यवसायीहरुमा अस्वस्थ प्रतिष्पर्धा बढाएको छ, ’यसको समाधानको लागि सबै एकजुट हुन आवश्यक छ, ’जोशीले भने ।

भैरहवा वितरक संघका अध्यक्ष राजकुमार जोशीले हाल संघमा ४१ जना सदस्य रहेको बताए । उनले विभिन्न समस्या र चुनौति रहेको बताए ।

पत्रकार शर्मा सम्मानित

भैरहवा वितरक संघ, रुपन्देहीले आफ्नो तेस्रो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा पत्रकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । संघको संस्थापक सल्लाहकार पदमा रहेर संस्थाको विधानअनुरुप निरन्तर सहयोग, साथ र सल्लाह दिइ सहयोग गरेको भन्दै शर्मालाई नगद रु. २५ हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको संघले जनाएको छ ।

nmmmm.jpg

उनलाई लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेय र संघका अध्यक्ष राजकुमार जोशीले सम्मान गरेका थिए ।