२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मधेशी जनतालाई जनमत पार्टीले अधिकार दिलाउने दावी

सोमवार , माघ २६, २०७७

भैरहवा, २६ माघ ।
मधेशी जनतालाई हकअधिकार दिलाउने एक मात्र पार्टी जनमत पार्टी रहेको नेताहरुले दावी गरेका छन् । उनीहरुले मधेश र मधेशी जनताको अधिकार दिलाउन जनमत पार्टीको विकल्प नरहेको दावी गरे । जनमत पार्टी सम्मरीमाई गाउँपालिका, रुपन्देहीको प्रथम गाउँपालिका अधिवेशन एवं जनसभालाई आइतबार सम्मरीमाई–६ असुरैनामा सम्बोधन गर्दै पार्टीका नेताहरुले मधेशी जनतालाई अधिकार दिलाउने आश्वासन दिने पार्टीहरु सत्तामा पुगेपछि मधेशको मुद्दालाई ओझेलमा पारेर नागरिकलाई धोका दिएको आरोप लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादवले हरेक असम्भवलाई सम्भव बनाउन डा. सिके राउतको जन्म भएको बताए । उनले जनतालाई अधिकार दिन नचाहने जुनसुकै शक्तिको पतन हुने निश्चित रहेको दावी गरे । ‘हिजो जनताले चाहेपछि राजतन्त्रको अन्त्य भएकै हो, अहिले पनि संसद विघटन गरी सत्ता र कुर्सीको खेल सुरु भएको छ, उनले भने ।

किसानलाई समयमै मल दिन नसक्ने सरकारले जसोतसो भारतबाट ल्याइएको मल पनि प्रहरीले खोस्ने कार्य ठीक नभएको उनको भनाइ छ । जनताको शासन स्थापित गर्न अब जनमत पार्टीलाई जिताउन उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै सम्मरीमाई गाउँपालिकाका अध्यक्ष तथा पार्टीका मधेश नेतृत्व पुञ्जका केन्द्रीय उपाध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले नेकपा, कांग्रेस, जसपा लगायतका पार्टीले जनताको पक्षमा काम गर्न नसकेकोले अब जनमत पार्टीको विकल्प नरहेको दावी गरे । उनले मर्चवार क्षेत्रमा रहेको मालपोत कार्यालयमा कर्मचारीको अभाव रहे पनि कसैले पहल नगरेको बताए । 

त्यस्तै जनमत पार्टी रुपन्देहीका संयोजक रामकेश गुप्ताले मधेशी जनतालाई हकअधिकार र युवाहरुलाई रोजगार दिन अब मधेशी जनता एकजुट हुनुपर्ने बताए । उनले जनमत पार्टी व्यक्ति विशेषको पार्टी नभई जनताको पार्टी भएको उल्लेख गरे ।
जनमत पार्टीका केन्द्रीय वरिष्ठ नेता आनन्द प्रसाद गुप्ताले मधेशी जनताको अधिकार डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दिलाउने बताए । उनले मधेशवादी दल भनाउँदा पार्टीहरु कांग्रेस, नेकपा जस्तै पार्टी बन्न थालेको बताए ।

मर्चवार लिफ्ट सिचाई जलउपभोक्ता संस्था मूल समितिका सचिव तथा जनमत पार्टीका नेता जगन्नाथ कुर्मीले आगामी निर्वाचनमा जनमत पार्टीलाई जिताउन आग्रह गरे । उनले मधेशी जनताको लागि भनेर निर्वाचित भएका नेताहरु आफ्नै स्वार्थमा लागेको बताए । जनमत पार्टी नेतृ पल्लवी शुक्लाले मधेशको अधिकारको लागि जनमत पार्टी लड्दै आएको बताइन् । उनले महिलालाई समान अधिकार दिनुपर्ने बताइन् ।

पार्टीका नेता सहाबुद्दिन देवानले मधेशी जनताले निर्वाचित गरेर पठाएको जनप्रतिनिधिले जनताको भावना बुझ्न नसकेको बताए ।
विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य विकास प्रसाद लोधको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अध्यक्षमा काशीराम यादव

यसैबीच आइतबार जनमत पार्टी सम्मरीमाई गाउँपालिकाको सम्पन्न प्रथम अधिवेशनले काशीराम यादवको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दुर्गावती केवट, सचिवमा जसई धवल, कोषाध्यक्षमा कमलावती अहिरीन र सह–सचिवमा राजिन्द्र प्रसाद लोध रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कमलेश यादव, आशिक अली दर्जी, अनिल कुमार गिरी, नगिना कुर्मी, कपिल केवट, राम बहादुर सहानी, अहमद हुसेन देवान, सत्य नारायण केवट, अजय दुवे, रामसरन प्रसाद यादव, कमलवाती लोध, रिंकी पासी, मालती बारी, रामफेर पासी, हरि यादव, अहमद अली देवान, राजाराम धोबी, राजेश लोध, विस्मिलाह र शाहिद अली रहेका छन् ।