२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

जनएकिकृत बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः न्यौपाने

आइतवार , पौष २२, २०८०

भैरहवा, २२ पुस ।
श्री जनएकिकृत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सियारी–१, रुपन्देहीको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुनः जगन्नाथ न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

संस्थाको उपाध्यक्षमा गीता घर्ती क्षेत्री, सचिवमा भिष्मराज पन्थी, सदस्यमा भोज बहादुर कार्की, मथुरा तिवारी, कृष्णा कुमारी श्रीस र तारा कुवंर रहेका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा दान बहादुर कुवंर, सदस्यमा महेन्द्र बहादुर कार्की र सुनिता अर्याल मल्ल निर्वाचित भएका छन् ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले विगतमा ऋण लिन पनि समस्या रहेको र मानिस अभावको जिन्दगीमा बाँच्न बाध्य भए पनि अहिलेको अवस्था फरक भएको बताए । उनले सहकारी संस्थाको जन्म भएपछि सर्वसाधारणलाई ठूलो राहत मिलेको बताए । उनले भने, ‘स्थानीयस्तरमा सञ्चालित सहकारीले सर्वसाधारणलाई आवश्यक परेको बेला सहयोग गरेको छ । पैसाको अभाव हुन दिएको छैन । आपत–विपतमा सहयोग गरेको छ ।’ अहिले नयाँ प्रविधिको विकास भएको र आईटी क्षेत्रको आवश्यकता बढ्दै गएको प्रदेश सभा सदस्य चौधरीको भनाइ छ ।

साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जगन्नाथ न्यौपानेले संस्थालाई यहाँसम्म ल्याउन योगदान गर्ने सबैलाई धन्यवाद दिए । उनले ४० जना शेयर सदस्यबाट गठन भएको यो संस्थामा हाल १ हजार ५ सय ९५ जना शेयर सदस्य रहेको जानकारी दिए । 

लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउँपालिका उपाध्यक्ष तारा थारु, सियारी–१ का वडाअध्यक्ष अरुण कुमार शाहीको विशिष्ट आतिथ्यता, राष्ट्रिय सहकारी बैंक सिद्धार्थनगरका प्रबन्धक प्रकाश पन्थीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सहकारीकी उपाध्यक्ष गीता घर्ती क्षेत्रीको स्वागत तथा सचिव गंगा प्रसाद कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।