images

सोमवार, बैशाख १७ गते २०८१

कृषिप्रधान देश नेपाल : कृषि क्षेत्रमा समस्यै–समस्या

कृषिप्रधान देश नेपाल : कृषि क्षेत्रमा समस्यै–समस्या

images
images
images
बुधवार, पौष २५ २०८०
बुधवार, पौष २५ २०८०
  • कृषिप्रधान देश नेपाल : कृषि क्षेत्रमा समस्यै–समस्या

    नेपाल कृषि प्रधान देश हो । यहाँका, नागरिक प्राय कृषिमा आधारित छन् । तर, बिडम्बना के छ भने कृषकहरू समयमा रासायनिक मल, बिउ सहजै पाउन सकेका छैनन् । सबैजना रासायनिक मलमा नै पर निर्भरता रहेको देख्न सकिन्छ । न सरकारले सहज रूपमा उपलब्ध गराउन सकेको छ न कुनै विकल्प दिन सकेको छ । देशमा रासायनिक मल उत्पादन गर्न उद्योग पनि स्थापना गर्न सकेको छैन भने विदेशवाट आयात गर्दा ठूलो धनराशी विदेशिने गरेको छ । के रासायनिक मल आयात गर्नु नै पर्ने हाम्रो बाध्यता हो त ?

    images

    नेपालको इतिहास हेर्दा सुरुमा हाम्रो परम्परागत तरिकाले खेतीपाती गर्ने गरिन्थ्यो । गोरुलाई नारी हलोले जोत्ने गरिन्थ्यो । बिउबिजन पनि आफ्नै उत्पादन र भण्डार गरेर जोहो गरिन्थ्यो । रासायनिक मलको बारेमा ज्ञान थिएन । गाईवस्तुको गोठेमल, पात पुतिगंर, सोत्तर प्रयोग गरी खेतवारीमा प्रयोग गरिन्थ्यो । त्यसताका प्रत्येक घरमा गाईवस्तु पालेर दुध, दही, मही, ध्यू प्रयाप्त रुपमा खाने र खेतीपाती लगाउनको लागि गाईवस्तुको मलको प्रयोग गर्ने गर्दथे । जसले गर्दा मानिसहरु पनि निरोगी हुन्थे भने बोटविरुवा पनि त्यसै गरी बलिया र हर्लक्क बढ्थे, पुष्ट तरिकाले तयार हुन्थ्यो ।

    समयको परिवर्तनसँगै जनसंख्या बढ्दै गयो । सीमित जग्गामा उत्पादन पनि सीमित नै हुन्थ्यो । सन् १९४३ तिर भारतमा भोकमरी आयो, जसमा करिब ४० लाख मानिसहरुको भोकमरीको कारण मृत्यु भएको तथ्यांकले देखाउँछ । भोकमरी आउनुको कारण लामो समय खडेरी पर्नु र सीमित उत्पादन हुनु सिंचाईको सुविधा नहुनु जस्ता कारण बताइन्छ । त्यसपश्चात भारतमा सन १९४७ पछि जब भारत स्वतन्त्र भएको थियो, कृषिलाई विशेष प्राथमिकता दिन थालियो । त्यस ताका अमेरिकाका नोरमन बोरलगले नयाँ कृषि क्रान्ति ल्याएका थिए । त्यसको प्रभावले भारतमा पनि १९६५ ता हरित क्रान्ति आयो, जुन क्रान्तिको श्रेय प्रो. एम एस स्वामीनाथनलाई जान्छ ।

    हरित क्रान्तिको मुख्य उद्देश्य उत्पादन बढाउने थियो । विदेशबाट विभिन्न हाईब्रिड बिउबिजन र रासायनिक मलको आयात गरी पाँचगुणा उत्पादन बढाउन थालियो । जसले भारतको उत्पादनमा ठूलो बदलाव ल्याएको थियो । त्यसको असर विस्तारै नेपालमा पनि पर्न थाल्यो । भारतको हरित क्रान्तिको प्रभावले नेपालका किसानलाई पनि मोह बढ्न थाल्यो । परम्परागत खेती गर्दा एउटै बालीलाई ४ देखि ६ महिना लाग्थ्यो भने उन्नत हाइब्रिड बिऊ र रासायनिक मल प्रयोग गरी कम समयमा पाँच गुणासम्म बढी उत्पादन हुन थाल्यो । जसले गर्दा रसायनिक मल र बिउबिजनप्रति मोह बढ्दा बढ्दै पनि अहिले गएर आदत र लत नै बसिसक्यो ।

    पहिले गोरुले जोत्ने खेत अब ट्याक्टरले जोतिन थाल्यो । सुरुसुरुमा कम मात्रामा प्रयोग गरिएको रासायनिक मलको प्रयोगले उत्पादन बढ्यो । विस्तारै जमिनको उर्बराशक्ति घट्न थाल्यो र बोटविरुवा कमजोर हुन थाले । यसका कारणले बोटविरुवामा रोग लाग्न थाल्यो । विभिन्न हानिकारक किराको शिकार बन्न थाले । रोग र किराबाट बचाउनको लागि धेरैभन्दा धेरै किटनाशक विषादीको प्रयोग हुन थाल्यो । एकातिर किसानहरु उत्पादन बढाउन रासायनिक मलको मात्रा बढाउन लागे भने अर्कोतिर किरा र रोगविरुद्ध किट्नाशक विषादीको प्रयोग ह्वात्तै बढ्न गयो । जसका कारण किसानको खर्च पनि बढ्न थाल्यो भने त्यो भन्दा बढी असर स्वास्थ्यमा पर्ने थाल्यो । जलवायू पनि दुषित हुन पुग्यो । मानवीय स्वास्थ्य र अन्य जीवजन्तुमा पनि नकारात्मक असर परिरहेको छ । रासायनिक मलले हामीलाई कसरी हानी पुर्याएको छ त ?

    यसरी बुझे सकिन्छ–जब हामी रासायनिक मल माटोमा हाल्दा त्यसमा रहेका हानीकारक तत्व पानीमा मिसिएर माटोको भित्री सतहसम्म पुग्छ । माटोमा रहेका लाभदायक जैविक जीवाणु जसले गर्दा माटोलाई खुकुलो बनाएका हुन्छन्, तिनीहरुलाई मार्छ, जसको प्रभावले माटोको गुणस्तर घट्दै जान्छ र उर्बराशक्ति नष्ट भई माटो बन्जर बन्न जान्छ । बोटविरुवामा प्रयोग गरिने किटनाशक विषादीले पनि माटोमा रहेको विभिन्न तत्वसँग मिसिएर जराको माध्यमबाट बोट र फलमा समेत विषादी पुगेको हुन्छ ।

    जुन फल तथा अन्न खाएपछि मानिस तथा जनावरको स्वास्थ्यमा प्रत्यक्ष असर परेको हुन्छ । आज भन्दा ५० वर्ष पहिलेका मानिसको उमेर र स्वास्थ्य र अहिलेको मानिसको स्वास्थ्य तुलना गर्ने हो भने पनि सजिलै अन्दाज लगाउन सकिन्छ । उहिलेका हाम्रा बाउबाजेमा दीर्घ रोग थिएन, सबै स्वस्थ थिए भने अहिले सानै उमेरमा पनि विभिन्न दीर्घ रोगीको शिकार भएको देखिन्छ । प्रेसर, सुगर, मुटुरोगी जस्तो दीर्घ रोग अहिले सानै उमेरमा नै लागेको पाउन सकिन्छ । यसबाट के भन्न सकिन्छ भने नयाँनयाँ प्रविधि र विकासको साथै यसले विनाश पनि निम्ताएको छ ।

    समयको परिवर्तनसँगै परम्परागत तरिकाबाट हरित क्रान्तिको अवधारणा आयो । यसले उत्पादनमा केही समय ठुलै परिवर्तन ल्यायो । साथै स्वास्थ्य र वातावरणमा धेरै नकारात्मक असर पनि पुर्याएको छ । अब फेरी अर्को परिवर्तनको खाँचो महसुस भइसकेको छ । अहिलेको अवस्थामा यूरोपियन मुलुक र अमेरिकातिर अर्गानिक प्रांगारिक पद्दतिको अवधारणा आएको छ । नेपालमा पनि त्यसको सुरुवात त भएको छ, तर यो प्रभावकारी रुपमा अगाडी बढाउन सकिएको छैन । अब नेपालमा पनि रासायनिक मलको र रासायनिक विषादीको विकल्पको विकास गर्नुपर्ने टडकारो अवस्था आएको छ ।

    जनस्तरमा नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । रासायनिक मल र विषादी प्रयोग अन्त्य गरी विकल्पको रुपमा प्रांगारिक मल, जैविक मलको प्रयोग र बनाउने विधिको तालिमको व्यवस्था हरेक गाउँ, टोल, वडा, पालिका, प्रदेशस्तरमा व्यापक प्राथमिकताको साथ गर्नुपर्छ । गोठेमललाई सुधार गर्ने, गड्यौला मल, जैविक मल, जैविक विषादी आदी रासायनिक मल र विषादीको विकल्प हुन भन्ने विश्वासलाई जनस्तरसम्म लैजानुपर्नेछ ।

    बजारमा किसानले उत्पादन गरेको विभिन्न तरकारीहरु जस्तै गोलभेडा, काउली, बन्दा, बोडी इत्यादी ल्याइएको हुन्छ । त्यस तरकारीमा प्रशस्त मात्रामा रासायनिक विषादी प्रयोग गरेको हुन्छ । देख्दा धेरै राम्रो, हरियो र कलकलाउदो देखिए पनि त्यो हानीकारक छ । त्यस्तो खालको तरकारी खाएपछि मानिसको शरीरमा क्यान्सर जस्तो रोग विकास भएको हुन्छ । त्यस्तै माछा, मासुमा पनि विभिन्ने किसिमका एन्टिबायोटीक दिएको देखिन्छ, जुन खाएपछि मानिसलाई प्रत्यक्ष असर गरेको हुन्छ । त्यसकारण हामी यसबाट कसरी बच्ने त ? परिवर्तन आफूबाट सुरु गर्ने प्रण गरौं । हाम्रो भान्सामा पाक्ने तरकारी आफै उत्पादन गर्न तिर लाग्नुपर्छ ।  अरुले उत्पादन गरेको तरकारीमा भर पर्नाले हाम्रो स्वास्थ्य खराब भएको हो भन्ने बुझ्नुपर्छ ।

    कौंसी, करेसावारी, खेत आदिमा प्रांगारिक तरिकाबाट तरकारी लगाउनाले एक त स्वस्थ तरकारी खान पाइने, पैसाको बचत समयको सदुपयोग, बिहान बेलुकी कसरत पनि हुने र सकारात्मक उर्जा वृद्धि भई शरिर फुर्तिलो हुने गर्दछ । यसबाट आजको भोली नै ठूलो परिवर्तन नल्याए पनि एउटा राम्रो संस्कारको सुरुवात हुन्छ । जसले दिर्घकालीन रुपमा पक्कै आमुल परिवर्तन आउने छ । जनस्तरबाट नै सरकारले विभिन्न तालिमको व्यवस्था, सचेतनाको कार्यक्रम नियमित रुपमा सञ्चालन गरेमा अवश्य पनि र अर्गानिक टोल, गाउँ, समाज र देश बन्न सक्छ ।  सरकारको ध्यान यसमा केन्द्रित हुन जरूरी देखिन्छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij