२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लिला गिरीको प्रश्न : एमाले जत्तिको काम अरु पार्टीले गरेका छन् ?

बुधवार , पौष २५, २०८०

भैरहवा, २५ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटव्यूरो सदस्य लिला गिरीले एमाले जत्तिको काम अरु पार्टीले गरे भन्दै प्रश्न गरेका छन् । उनले एमाले नेतृत्वको सरकारले मुलुकमा धेरै राम्रो काम गरेको दावी गरे ।

एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको पूर्ण बैठकलाई बुधबार भैरहवामा सम्बोधन गर्दै नेता गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा मुलुकमा व्यापार घाटा कम भएको, आर्थिक वृद्धिदर सुधार भएको र विदेशिने नेपालीको संख्यामा कमी आएको बताए ।

उनले एमाले नेतृत्वमा सरकार हुँदा मुलुकलाई अस्थिरतातर्फ धकेल्न पाइँदैन भनेर नियोजित रुपमा हटाइएको बताए । उनले भने, ‘कांग्रेसको सहयोगमा प्रचण्डले सत्ता चलाउने अनि हामीलाई मुछ्ने ? प्रतिपक्षीकाविरुद्ध सत्तारुढ पार्टीले गठबन्धन गरेका छन् । कांग्रेसले नसकेर अरु पार्टीको सहारा लिएको छ । ’

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका गिरीले विगतमा एक्लै निर्वाचन लड्दा पनि एमाले जनताको रोजाइको पार्टी बनेको बताए । उनले एमालेलाई जति एक्लाए पनि पार्टीको जनताले मुल्यांकन गरेको बताए । उनले भने, ‘मुलुकको हविगत हेर्नुस्, विकास निर्माण ठप्प छ । राजनीतिक अस्थिरता छ ।’

नेता गिरीले मुलुकमा राजा फर्काउने कुनै सम्भावना नरहेको दावी गरे । पार्टीले ठीक मूल्यांकन गरेर निर्वाचनमा टिकट दिने भएकाले टिकट पाउने व्यक्तिलाई सबैले मिलेर जिताउनुपर्ने उनको भनाइ छ । ‘एउटा पदमा एक जनाले मात्र टिकट पाउँछ । उसलाई जिताइयो भने त्यो व्यक्तिले अर्को निर्वाचनमा अर्को उम्मेदवारलाई पनि त्यसै गरी जिताउन सहयोग गर्छ । निर्वाचन आएपछि मन बिगार्नुहुँदैन, ’गिरीले भने ।

उनले २०८४ को निर्वाचनमा एमालेलाई हार्ने छुट नभएको उनले बताए । एमाले भविष्य भएको पार्टी भएकाले ठीक ठाउँमा उभिएर पारदर्शी ढंगले अगाडि बढ्न उनले आग्रह गरे ।

त्यस्तै एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले नतिजा आउने गरिएका कामले प्रभाव पार्ने बताए । उनले आफ्नो जिम्मेवारी आफूले बुझ्नुपर्ने बताए ।

पार्टीका रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.ले एमालेलाई कमजोर बनाउन खोज्ने शक्ति आफै परास्त हुने दावी गरे । उनले कुरा एउटा र व्यवहार अर्को गर्न नहुने बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले व्यक्ति पछाडी नभइ पार्टी र विचारका पछाडी लाग्न आग्रह गरे ।

पार्टीका सिद्धार्थनगर अध्यक्ष चक्र बहादुर थापाले पार्टीलाई थप मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

एमाले सिद्धार्थनगर उपसचिव माया कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बैठकले अबको १० दिनभित्र सम्पूर्ण वडा कमिटीका बैठकहरु सम्पन्न गर्ने निर्णय गरेको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए ।

त्यस्तै जनसंगठनका बैठकहरु अबको एक हप्ताभित्र सम्पन्न गर्ने, माघ ६ गते भैरहवामा वृहत भेला तथा वनभोज कार्यक्रम गर्ने तथा माघ महिनाभित्र पार्टीको जिल्ला स्कूल विभागसँग समन्वय गरेर नगरस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको थापाले जानकारी दिए ।