शनिवार , आश्विन १७, २०८३
संसारमा खराब मानिस खोज्न निस्किएका दुर्योधन र असल मानिस भेट्टाउन हिंडेका युधिष्ठिर जब दुवै जना रित्तो हात फर्किए, तब सिद्ध भयो कि–यो संसार आफैमा सुन्दर वा कुरुप छैन, यो त केवल हाम्रो भित्री दृष्टिकोण मात्र हो ।
मानव जीवन आफैमा एक जटिल र सुन्दर संरचना हो । यस संसारमा जन्मिएका हरेक व्यक्तिमा आफ्नै विशेषता, क्षमता र सीमाहरू हुन्छन् । पूर्वीय दर्शन र हाम्रो व्यवहारिक जीवन दुवैमा एउटा अत्यन्तै लोकप्रिय आदर्श वाक्य छ–‘दोष नदेख, गुण देख ।’ यसको सिधा अर्थ कसैको कमजोरीलाई मात्र औंल्याउनु भन्दा राम्रो उसभित्र लुकेको राम्रो पक्ष, क्षमता र सद्गुणलाई पहिचान गर्नु र सम्मान गर्नु हो ।
वास्तवमा हामी जुन दृष्टिकोणले संसारलाई हेर्छौं, संसार हामीलाई त्यस्तै देखिन्छ । यदि हाम्रो आँखाले सधै अरूको गल्ती र कमजोरी मात्र खोजिरहन्छ भने हाम्रो मन नकारात्मक उर्जाले भरिन्छ । यसको विपरीत, यदि हामीले अरूका राम्रा बानी र भलाइलाई हेर्न थाल्यौं भने जीवन र समाजमा सकारात्मकताको सञ्चार हुन थाल्छ । त्यसैले यो विषय केवल एउटा दार्शनिक आदर्श मात्र नभएर व्यक्ति, परिवार, कार्यस्थल, राजनीति, सञ्चारमाध्यम र समग्र समाज सुधारको एक सशक्त माध्यम हो ।
मानवीय स्वभाव र पौराणिक दृष्टान्त
हाम्रो मानवीय स्वभाव सामान्यतया गल्ती र कमजोरीतर्फ चाँडै आकर्षित हुने खालको हुन् छ। एउटा सेतो कपडामा सानो कालो दाग लाग्यो भने मानिसको ध्यान सिधै त्यही दागमा जान्छ, जबकि बाँकी रहेको ठुलो सफा भागलाई सहजै वेवास्ता गरिन्छ । मानवीय व्यवहारमा पनि ठ्याक्कै यही कुरा लागू हुन्छ । कसैले जीवनभर राम्रा काम गरेको हुन सक्छ, तर उसबाट सानो गल्ती हुँदा समाजले उसलाई दोषी करार गर्न हतार गर्छ ।
दृष्टिकोणको यही भिन्नता र मानव स्वभावको गहिराइ बुझ्न महाभारतको एउटा निकै घतलाग्दो प्रसंग सान्दर्भिक हुन्छ । एकपटक गुरु द्रोणाचार्यले संसारको मानवीय प्रवृत्तिको परीक्षा लिन युधिष्ठिर र दुर्योधनलाई बेग्लाबेग्लै कार्य सुम्पिनुभयो । उहाँले युधिष्ठिरलाई संसारकै सबैभन्दा खराब व्यक्ति र दुर्योधनलाई सबैभन्दा सद्गुणी व्यक्ति खोजेर ल्याउने आदेश दिनुभयो । लामो समयको खोजपछि दुवै जना रित्तो हात फर्किए । दुर्योधनले बडो अहंकारका साथ भने– ‘गुरुदेव, मैले यो सम्पूर्ण राज्य चहारेँ तर, मभन्दा उत्तम व्यक्ति कतै भेटिनँ, यहाँ त सबैमा केही न केही खोट मात्रै रहेछ ।’ यसको ठीक विपरीत, परम ज्ञानी युधिष्ठिरले विनम्रताका साथ भने–‘गुरुदेव, मैले जसलाई हेरें, उसमा कुनै न कुनै अद्भुत गुण र भलाइ देखें, मभन्दा खराब त कोही पनि फेला पार्न सकिनँ ।’ यो दृष्टान्तले पुष्टि गर्छ कि संसार आफैमा राम्रो वा नराम्रो छैन, यो त केवल हाम्रो भित्री चेतना र चश्माको प्रतिबिम्ब मात्र हो । दुर्योधनको आँखामा दोषको चश्मा थियो, त्यसैले उसले कसैमा सद्गुण देखेन; युधिष्ठिरको हृदयमा गुणग्राही भावना थियो, त्यसैले उनले सबैमा सद्गुणको दर्शन गरे ।
पूर्वीय चिन्तन र विवेक
हाम्रो पूर्वीय संस्कृतिमा यस्तो गुणग्राही बन्ने कलालाई ठुलो महिमा दिइएको पाइन्छ । हाम्रो परम्परामा ‘नीर–क्षीर विवेक’ को कुरा गरिन्छ, जसरी राजहंसले दूध र पानी मिसाएर राख्दा आफ्नो विशिष्ट क्षमताले दूध मात्र पिउँछ र पानी छोडिदिन्छ । वेदान्त दर्शनले पनि मानिसमा देखिने दोषहरू केवल अज्ञानताका बाह्य आवरण हुन् भन्दछ । भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ कि संसारमा कुनै पनि काम वा व्यक्ति सर्वगुण सम्पन्न हुन सक्दैन, जसरी आगो बलिरहँदा त्यहाँ धुवाँ हुनु स्वाभाविक हो । त्यसैले धुवाँजस्तो दोषलाई हेरेर आगोको ताप र प्रकाशजस्तो गुणलाई अस्वीकार गर्नु मूर्खता हो ।
चिकित्सा र स्वास्थ्य क्षेत्रमा सकारात्मक ऊर्जा
यो गुणग्राही दृष्टिकोण चिकित्सा र स्वास्थ्यको संवेदनशील क्षेत्रमा झनै वरदान साबित हुन सक्छ । आधुनिक चिकित्सा विज्ञानले शारीरिक उपचारमा मात्र होइन, बिरामीको मानसिक स्वास्थ्य र आत्मबलमा दृष्टिकोणको प्रभावलाई गहिराइबाट स्वीकार गरेको छ । कतिपय अवस्थामा चिकित्सक वा स्वास्थ्यकर्मीहरूले बिरामीको रोग वा शारीरिक कमजोरीलाई मात्र जोड दिँदा बिरामीमा हीनताबोध र मानसिक भय पैदा हुन्छ । यसको विपरीत, बिरामीभित्र रहेको बाँकी शारीरिक शक्ति, रोग प्रतिरोधात्मक क्षमता र जिजीविषालाई पहिचान गरी सकारात्मक ऊर्जा जगाउने हो भने उपचार प्रक्रिया निकै सहज र तीव्र हुन्छ । स्वास्थ्य क्षेत्र केवल रोगको निदान गर्ने प्राविधिक थलो मात्र नभएर मानिसलाई बाँच्ने आशा र भरोसा दिने मानवीय माध्यम बन्नुपर्छ । जब चिकित्सकले बिरामीमा र बिरामीले आफ्नै शरीरमा कमजोरीभन्दा बढी सकारात्मक सम्भावना देख्न थाल्छन्, तब मात्र पूर्ण स्वास्थ्य लाभ सम्भव हुन्छ ।
उद्योग र वाणिज्य क्षेत्रमा सहकार्यको संस्कृति
राष्ट्रको आर्थिक मेरुदण्ड मानिने उद्योग, वाणिज्य र औद्योगिक सम्बन्धमा पनि यो सिद्धान्त सफलताको बलियो जग हो । उद्योगहरूमा व्यवस्थापन र मजदूर वा कर्मचारी संगठनहरूबीच सधै एकअर्काको खोट र गल्ती मात्र औंल्याएर हडताल वा प्रतिशोध साध्ने पुरानो परिपाटीले औद्योगिक विकासलाई सधैँ अवरुद्ध पारेको छ । कति औद्योगिक प्रतिष्ठान त सधैको लागि बन्द हुन पुगेका पनि छन् । तर, उद्योगपतिहरूले श्रमशक्तिको पसिना, इमानदारिता र सीप जस्ता सबल पक्षको कदर गर्दै उनीहरूको हित सुनिश्चित गर्ने र मजदूरहरूले पनि उद्योगको व्यवसायिक चुनौती र लगानीको जोखिम बुझेर रचनात्मक सहयोग गर्ने हो भने औद्योगिक सफलता सम्भव छ । बजारमा वस्तु र सेवाको उत्पादन गर्दा पनि प्रतिष्पर्धी कम्पनीहरूको ओलोचना गरेर आफ्नो व्यवसाय बढाउनुभन्दा, आफ्नै उत्पादनको गुणस्तर र विशेषतालाई निखार्नु नै दिगो व्यापारको रहस्य हो ।
शिक्षा क्षेत्रमा नवीन चेतना
यो सिद्धान्त आजको शिक्षा क्षेत्रमा झन् क्रान्तिकारी साबित हुन सक्छ । परम्परागत शिक्षण पद्धतिमा विद्यार्थीका गल्तीलाई रातो मसीले गोलो घेरा लगाएर सजाय दिने चलन थियो, जसले बालबालिकामा हीनताबोध जन्माउँथ्यो । आधुनिक शिक्षा शास्त्रले हरेक बच्चा विशिष्ट हुने कुरा स्वीकार गर्छ । कोही गणितमा कमजोर हुन सक्छ तर चित्रकला वा खेलकुदमा असाधारण हुन सक्छ । शिक्षक र अभिभावकले विद्यार्थीको शैक्षिक कमजोरीलाई मात्र आधार बनाएर उसलाई कमजोरको ‘ट्याग’ लगाउनुहुँदैन, बरु उसको रुची र भित्री क्षमतालाई पहिचान गरी प्रोत्साहन दिनुपर्छ । गल्तीहरू सिकाईका अभिन्न हिस्सा हुन् भन्ने बुझेर विद्यालयको वातावरण भयरहित र रचनात्मक बनाउनु आजको आवश्यकता हो ।
व्यवसायिक कार्यस्थल र कुशल नेतृत्व
आधुनिक व्यावसायिक कार्यस्थलमा पनि यो सिद्धान्त सफलताको मेरुदण्ड हो । एक कुशल प्रबन्धक वा नेताले आफ्ना कर्मचारीहरूको कमजोरी मात्र औंल्याएर उनीहरूलाई हतोत्साहित गर्दैन, बरु प्रत्येक कर्मचारीको सबल पक्ष बुझेर सोही अनुसारको जिम्मेवारी सुम्पिन्छ । कार्यस्थलमा गल्तीहरू हुनु स्वाभाविक भए पनि ती गल्तीहरूलाई दोषको रूपमा उछाल्नुको साटो रचनात्मक प्रतिक्रियाका रूपमा प्रस्तुत गरिनुपर्छ । सहकर्मीहरूबीच एक–अर्काको खुट्टा तान्ने वा कमजोरीको खोइरो खन्ने बानीले संस्थाको प्रगति रोक्छ । जब कार्यस्थलमा एकले अर्काको क्षमता र योगदानको कदर गर्छन्, तब आपसी विश्वास बढ्छ र संस्थाको उत्पादकत्वमा वृद्धि हुन्छ ।
सन्तुलित राजनीति ः सरकार र प्रतिपक्षको धर्म
यो दृष्टिकोण केवल सामाजिक वा व्यावसायिक जीवनमा मात्र सीमित नभएर मुलुकको राजनीतिक क्षेत्र, विशेष गरी सरकार र प्रतिपक्षको सम्बन्धमा पनि उत्तिकै बलियो रूपमा लागू हुन्छ । राजनीतिमा सामान्यतया प्रतिपक्षले सरकारका सानातिना गल्तीहरूलाई मात्रै उछालिरहने र सरकारले प्रतिपक्षका रचनात्मक सुझावहरूलाई संकीर्ण नजरले हेर्ने परिपाटी रहिआएको छ । तर, ‘दोष नदेख, गुण देख’ को मन्त्रलाई आत्मसात् गर्ने हो भने राजनीतिक क्षेत्रमा ठुलो रूपान्तरण सम्भव छ। सरकारले प्रतिपक्षी दलहरूलाई केवल ‘अवरोधक’ वा ‘दोष मात्र खोज्ने’ समूहका रूपमा हेर्नु हुँदैन । प्रतिपक्षले उठाएका सुशासन, विधिको शासन र नीतिगत कमजोरीका विषयहरूलाई आफ्नो गल्ती सुधार्ने रचनात्मक अवसरका रूपमा लिनुपर्छ । प्रतिपक्षमा रहेका अनुभवी नेताहरूको ज्ञान, विज्ञता र राजनीतिक अनुभवलाई देश विकासको ‘गुण’ मानेर सरकारले त्यसको कदर गर्न सक्नुपर्छ । अर्कोतर्फ, प्रतिपक्षी दलहरूले पनि सरकारले गरेका हरेक निर्णयमा खोट मात्रै निकाल्ने प्रवृत्ति त्याग्नुपर्छ । सरकारले चालेका जनमुखी कदम, प्रशासनिक सुधारका प्रयास र भ्रष्टाचार विरोधी अभियानहरूलाई खुला मनले स्वागत र समर्थन गर्नुपर्छ । अन्धाधुन्ध विरोध गर्नुको साटो सरकारका राम्रा कामको ’गुण’ पहिचान गरी संसद्भित्र र बाहिर रचनात्मक सहयोग गर्नु प्रतिपक्षको धर्म हुन आउँछ ।
जिम्मेवार पत्रकारिता ः समाजको पहरेदार र ऐना
आधुनिक पत्रकारिता र पत्रिकाहरूको लेखनशैली एवं दृष्टिकोणमा पनि उत्तिकै महत्वपूर्ण छ । सञ्चारमाध्यमलाई राज्यको चौथो अंग र समाजको ऐना मानिन्छ । आजको डिजिटल पत्रकारितामा व्यापारिक होडका कारण कतिपय पत्रिकाहरूले समाजका विकृति, अपराध, राजनीतिक खिचातानी र नकारात्मक पक्षहरूलाई मात्र बढी उछाल्ने गरेको देखिन्छ । तर, पत्रकारितामा यो सन्तुलित दृष्टिकोण अपनाउने हो भने पत्रिकाहरूले सरकार, संस्था वा व्यक्तिका गल्तीहरू औंल्याएर पहरेदारीको भूमिका निर्वाह गर्नु स्वाभाविक र आवश्यक भए तापनि सधै खोट मात्रै खोज्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ । समाजमा भइरहेका सकारात्मक परिवर्तन, भुइँमान्छेका प्रेरणादायी संघर्ष, नवीन खोज र विकासका कार्यहरूलाई पनि उत्तिकै प्राथमिकताका साथ मुख्य पृष्ठमा स्थान दिनुपर्छ । समाचार लेख्दा वा सम्पादकीय दृष्टिकोण तय गर्दा कुनै व्यक्ति वा पक्षप्रति पहिल्यै ‘दोषी’ को चश्मा लगाएर हेर्नुहुँदैन । कसैको एउटा गल्तीलाई लिएर उसको सम्पूर्ण व्यक्तित्व वा विगतका राम्रा योगदानलाई नै समाप्त पार्ने गरी श्रृंखलाबद्ध प्रहार गर्नु पत्रकारिताको धर्म होइन । कमजोरीको आलोचना गर्दागर्दै पनि सम्बन्धित पक्षले गरेका राम्रा प्रयास र ‘गुण’ को कदर गर्ने इमानदारिता पत्रिकाहरूमा हुनुपर्छ ।
पारिवारिक सामीप्यता र सामाजिक सद्भाव
पारिवारिक र सामाजिक सम्बन्धहरू पनि अत्यन्तै संवेदनशील हुन्छन् । पति–पत्नी, आमाबुबा–छोराछोरी वा साथीभाइबीचको सम्बन्ध सुमधुर राख्न यो सिद्धान्त अपरिहार्य छ । घरपरिवारमा एकअर्काको सानातिना गल्तीलाई वेवास्ता गरेर गुणको कदर गर्दा आपसी सद्भाव र विश्वासको वातावरण सिर्जना हुन्छ । सधै अरूको आलोचना गरेर गल्ती मात्र खोज्ने मानिस कहिल्यै खुसी हुन सक्दैन । अरूको बारेमा सधैँ नकारात्मक सोच्दा आफ्नै मन अशान्त हुन्छ र मस्तिष्कमा रिस तथा ईष्र्या जस्ता विकारहरू जन्मिन्छन् । यो आदर्शलाई दैनिक जीवनमा उतार्न हामीले आफ्नो व्यवहारमा केही परिवर्तन ल्याउन आवश्यक छ । कसैले सानो भए पनि राम्रो काम गरेको छ भने मन खोलेर उसको प्रशंसा गर्ने बानी बसाल्नुपर्छ । यदि कसैको बारेमा राम्रो भन्न सकिँदैन भने, उसको भलाइ तथा हितका लागि प्रेमपूर्वक एकान्तमा उसका गल्ती तथा कमजोरी भनिदिनुपर्छ ।
रूपान्तरणको मार्ग र सुखमय जीवन
‘दोष नदेख, गुण देख’ भन्ने मन्त्र मानव जीवनलाई सार्थक र सुखमय बनाउने अमूल्य साँचो हो । दोष खोज्नु संसारकै सबैभन्दा सजिलो काम हो, तर गुण पहिचान गर्न ठुलो र उदार मन चाहिन्छ । संसारलाई बदल्नु छ भने सुरुवात आफैबाट र आफ्नै दृष्टिकोणबाट गर्नुपर्छ । आफ्ना आँखाहरूलाई गुणग्राही बनाऔं, कानहरूलाई प्रशंसा सुन्न र मुखलाई मीठो बोल्न प्रयोग गरौं । जब हामी अरूमा भएका राम्रा पक्षहरूलाई हेर्न र सम्मान गर्न थाल्छौं, तब समाज र राष्ट्रबाट निराशा, घृणा र कलह बिस्तारै हराएर जानेछन् र एउटा सभ्य एवं समृद्ध समाजको निर्माण हुनेछ ।
यादव घिमिरे
पूर्व निर्देशक, काठमाडौं महानगरपालिका
हाल : कलंकी–१४, काठमाडौं
yadavghimire*^@gmail.com
मोबाइल : ९४१३६९९२
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij