
आइतवार , पौष २९, २०८०
अर्घाखाँची, २९ पुस ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालीन गुरुयोजना बनाएर लाग्नुपर्ने बताएकी छन् । उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना बोकेका क्षेत्र रहेकोले पहिचान गर्नुपर्नेमा जोड दिइन् ।
रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले सन्धिखर्कमा गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले अर्घाखाँचीमा पर्यटनको सम्भावनालाई उजागर गर्दै प्रचारप्रसारका माध्यमबाट जिल्लालाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउन नेपाल पत्रकार महासंघ लागेकोमा धन्यवाद समेत दिए ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रवद्र्धन अभियानमा सबैले साथ दिनुपर्नेमा उनले जोड दिए । लुम्बिनीमा आएका पर्यटकलाई सुपा देउराली हुँदै जिल्लाका अन्य पर्यटकिय क्षेत्रमा पुर्याउन सकेमा मात्र जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने मन्त्री श्रीपालीको भनाइ रहेको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रवद्र्धन अभियानको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही माघ १ गते सन्धिखर्क आउने कार्यक्रमलाई लक्षित गर्दै आयोजना भएको कार्यक्रमा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले जिल्लाको पर्यटन विकासमा प्रदेशको तर्फबाट पर्याप्त बजेट विनियोजन हुन नसकेको स्विकार गर्दै आगामी दिनमा पहल गर्ने बताए ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले प्रधानमन्त्री दाहाललाई जिल्लाका महत्वपुर्ण बिकास आयोजनाको निर्माणका विषयमा ध्यानाकर्षण गराउने बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री बिष्णु प्रसाद खनालले जिल्लाका पर्यटकीय स्थलको पूर्वाधार निर्माण नहुँदा पर्यटनको विकासले गति लिन नसकेको बताए । जिल्लाको विकासमा सबैको साझा एजेण्डा बनाउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले चारवटै सुरक्षा निकाय परिचालन गरी जिल्लाको समग्र शान्ति सुरक्षा चुस्त पारिएको बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली, जिल्ला उपाध्यक्ष विरेन्द्र केसी, सह–सचिव हृदय भुसाल, चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले मन्तव्य राखेका थिए ।
कार्यक्रम रिपोर्टस क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा नविन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij