
मंगलवार , माघ २, २०८०
बुटवल, २ माघ ।
स्थापनाको छोटो समयमै १ हजार ७ सय ६८ शेयर सदस्यहरु आबद्ध गराउन सफल पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सवारीधनी, सवारीचालक र मजदूरको पारिवारिक सुरक्षालाई मध्यनजर गर्दै स्थापित सहकारीको साधारणसभामा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल जस्तो विकासउन्मुख मुलुकमा सहकारी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकोले यसको सिद्वान्त र गरिमालाई पनि बचाएर अघि बढ्न आग्रह गरेकी छन् ।
सहकारी क्षेत्रलाई व्यवस्थित, मर्यादित र थप विश्वसनीय बनाउन आवश्यक रहेको चर्चा गर्दै उपप्रमुख अर्यालले सहकारीमार्फत मजदूर वर्गको गरिबी निवारणमा टेवा पुर्याउन सकिने धारणा व्यक्त गरिन् । विगतदेखि वर्तमानसम्म हेर्दा यातायात क्षेत्र बुटवलको सम्रग विकासको आधारसमेत भएको बताउँदै उपप्रमुख अर्यालले यातायात व्यवसायी, मजदूर र सम्बद्ध कर्मचारी आबद्ध रहेको सहकारीसँग सहकार्य गरेर अघि बढ्न उपमहानगरपालिका तयार रहेको जानकारी दिइन् ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.तथा सहकारीका अध्यक्ष दधिराम खरेलले व्यवसायी, मजदूर र उनीहरुका परिवारलाई समेत उत्थान गर्ने सहकारीको नीति रहेको उल्लेख गर्दै जीवनभर यातायात क्षेत्रमा काम गरेका व्यवसायी र मजदूरहरु जीवनको उतरार्धमा खाली हात घर फर्किनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।
बस व्यवसायी र मजदूरहरुले गरेको योगदानलाई कदर गर्न आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष खरेलले यसका लागि तीनै तहका सरकारको सहयोग र सहकार्यको आवश्यक्ता रहेकोमा जोड दिए ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरु चोपनारायण श्रेष्ठ, तुलसीराम बन्जाडे, प्रा.लि.का उपाध्यक्ष जीवन बन्जाडे, प्रबन्धक रामचन्द्र भुसाल, कार्यबाहक सचिव मन्जु बस्नेत लगायतले सहकारीको उद्देश्य र समग्र यातायातकर्मीहरुको हकहितमा सहकारीले खेल्ने भूमिकाको बारेमा चर्चा गरेका थिए ।
यातायात व्यवसायी, कर्मचारी र मजदूरहरुको आर्थिक अवस्थालाई सबलीकरण गर्ने उद्देश्यले २०७८ सालमा स्थापना गरिएको उक्त सहकारी संस्थाले शेयर सदस्यहरुका लागि १५ देखि २२ लाख बराबरको दुर्घटना बीमाको व्यवस्था गरिएकोे प्रबन्धक रामचन्द्र भुसालले बताए ।
सहकारीमा हाल १ हजार ७ सय ६८ जना सदस्यहरु रहेको प्रबन्धक भुसालले बताए । छोटो अवधिमै पनि सहकारीले ३ करोड भन्दा बढी निक्षेप संकलन गरी झण्डै ४ करोड बराबरको कर्जा प्रवाह गरिएको अध्यक्ष खरेलले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij