
आइतवार , माघ ७, २०८०
बुटवल, ७ माघ ।
उद्योग व्यापार संघ बुटवलले कार्ययोजना तथा कार्यशाला बैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । पाल्पाको शितल फार्ममा दुई दिनसम्म चलेको बैठकमा संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघको सचिवालय भवन निर्माण, २०८२ मा बुटवल मण्डपमा पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना, सदस्यता वृद्धि, आजीवन सदस्यता वितरण, आर्थिक पत्रकारिता पुरस्कार वितरण, वस्तुगत समिति गठनदेखि कृषिमा सामूहिक लगानी लगायत योजनाहरु प्रस्ताव गरेका थिए ।
अध्यक्ष पाण्डेले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरु कार्यसमिति र सल्लाहकार समेतले सुझावसहित सर्वसम्मतले पारित भएको हो । कार्यशाला वैठकले बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा शिलान्यास भएको संघको सचिवालय भवन निर्माण गर्न निवर्तमान अध्यक्ष गोविन्दराज गैरेको संयोजकत्वमा निर्माण समिति बनाएको छ । जसको सह–संयोजकमा संघका अध्यक्ष विष्णुप्रसाद पाण्डे र सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जीसी, महासचिवमा यमलाल मरासिनी, कोषाध्यक्षमा नम्रता थापा र कार्यसमिति सदस्यमा दिलिप शर्मा रहेका छन् ।
भवन निर्माणको अनुगमन संयोजकमा संस्थापक अध्यक्ष खिमनारायण पराजुली तथा सदस्यमा सल्लाहकार ज्योति भण्डारी, कानूनी सल्लाहकारमा दामोदर घिमिरे रहेका छन् भने लेखा समिति संयोजकमा कोशलराज भण्डारी तथा सदस्यमा अर्जुन गिरी र विजय आचार्य रहेका छन् ।
कार्यशाला बैठकमा संस्थापक अध्यक्ष एवं नेपाल उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले प्रशिक्षणसहित मन्तव्य राख्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरणको एजेण्डाका कारण अन्य व्यवसायिक संस्था भन्दा संघको पहिचान फरक रहेको स्पष्ट पारे । उनले नेपालको अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशामा रहेकाले निराश नभई काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । अर्थतन्त्रमा देखिएका बैंक ब्याजदर, असन्तुलित ढंगले सीमित ठूला घरानामा प्रवाह भइरहेको कर्जाको ठूलो हिस्सालाई सन्तुलित बनाउन महासंघले केन्द्रमा सरकारसँग निरन्तर पहल र पैरवी गरेको र त्यसको नतिजा पनि आउने क्रममा रहेको बताए ।
सल्लाहकार ज्योति भण्डारीले सदस्यता वृद्धि गरेर २ हजार पुर्याउन सुझाव दिंदै सचिवालय भवन निर्माण, आईएसओ प्रमाणपत्र लिने विषयलाई पनि प्राथमिकता दिन आग्रह गरे । उनले बुटवलका अन्य व्यवसायिक संस्था भन्दा उद्योग व्यापार संघमा सबै विचार र आस्थाका व्यवसायी अटाउनसक्छन् र सबैको साझा संस्था हो भन्ने पहिचान स्थापित गर्न सके यसमा व्यवसायीको आकर्षण बढ्ने बताए ।
संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले हालै सम्पन्न अधिवेशनबाट निर्वाचित भएर आएपछि विगतमा जस्तै कार्ययोजना तथा कार्यशाला बैठकमार्फत नयाँ कार्यक्रम र योजनाहरु अघि सारिएको बताए । उनले उद्योगी व्यवसायीले भोग्नुपरेका कर, राजस्व, घर भाडा, व्यवसाय नवीकरण छुटेको लगायतका समस्या समाधानमा संघको क्रियाशीलता बढाउने, राजनीतिक दल, सरकारी र गैरसरकारी निकायसँगको समन्वय र सहकार्य विस्तार लगायतका कार्यक्रम र गतिविधि गरिने बताए ।
संघका निवर्तमान अध्यक्ष गोबिन्दराज गैरेले संघको सचिवालय भवन २ वर्षभित्र पूरा गर्ने गरी आफूले काम अघि बढाउने बताए । २ वर्षअघि विषम परिस्थितिमा आफ्नो नेतृत्वमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी ऐतिहासिक रुपमा सफल बनाए जस्तै २ करोड लागत अनुमान गरिएको दुईतले भवन निर्माण गर्ने लक्ष्य राखेको बताए ।
२७ हजार ५ सय राशीको आर्थिक पत्रकारिता पुरस्कार
कार्यशाला बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गत २७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार राशीसहितको आर्थिक पत्रकारिता पुरस्कार स्थापना गरेको संघका अध्यक्ष पाण्डेले बताए ।
विशेष गरी बुटवलको आर्थिक र व्यवसायिक गतिविधि, उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या, समाधानका उपाय, सम्बन्धित सरकारी निकायको दायित्व र भूमिका लगायत अर्थतन्त्रका बहुआयामिक विषयमा खोजमूलक समाचार प्रकाशन/प्रशारण गर्ने पत्रकारहरुमध्ये हरेक २ वर्षमा एक जनालाई नगद राशीसहित पुरस्कृत गरिने संघका उद्योग उपाध्यक्ष पदम जीसीले जानकारी दिए । पुरस्कार वितरणका लागि संघको सचिवालयले कार्यविधि बनाउने उनले बताए ।
कायर्यशाला बैठक अघि बसेको संघको तेस्रो बैठकमा संघमा मनोनित कार्यसमिति सदस्य माया पाण्डेलाई अध्यक्ष विष्णु पाण्डेले सपथ गराएका थिए भने कोषाध्यक्ष नम्रता थापाले आर्थिक आय–व्यय प्रस्तुत गरेकी महासचिव यमलाल मरासिनीले जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, वाणिज्य उपाध्यक्ष केशव श्रीस, महिला उपाध्यक्ष अन्जु पाण्डे, कार्यसमिति सदस्यहरु लगायतले विभिन्न सुझावहरु राख्दै कार्यशाला वैठकले पारित गरेका योजनाहरु अक्षरशः पालनामा सबैको भूमिका हुनुपर्नेमा संघका जोड दिएका कार्यक्रम संयोजक एवं उद्योग उपाध्यक्ष पदम जिसीले बताए ।
कार्यशालाले पारित गरेका अन्य योजना र कार्यक्रमहरुमा वस्तुगत समिति गठन, प्रविधि विस्तार, प्रशिक्षण तथा तालिम, बुटवलका विभिन्न संघ–संस्थाहरुसँगको योजनासहित संयन्त्र बनाउने, भ्रमण तथा सम्बन्ध विस्तार, संघ–संस्था र स्वदेशी उद्योगहरुको अध्ययन अवलोकन भ्रमण, वैदेशिक अवलोकन भ्रमण, सरकारी निकायसँग समन्वय तथा भेटघाट, उद्योगी व्यवसायीहरुसँग भेटघाट, वस्तुगत संस्थाहरुको समस्या पहिचान गरी सम्बन्धित संस्था र सरोकारवालाहरुसँग अन्तरक्रिया रहेका छन् ।
त्यस्तै औद्योगिक व्यवसायिक एवं सिप अभिवृद्धि तालिम सञ्चालन, महिला उद्यमी उत्प्रेरणा तालिम, लेखा सम्बन्धि तालिम, कर प्रशिक्षण, डाइरेक्टरी तथा भित्तेपात्रो प्रकाशन, विभिन्न कारणबाट धरासायी भएका उद्योगी व्यवसायीहरुको उठान तथा सहयोगको लागि पहल, नेतृत्व विकास सम्वन्धि तालिम, राजस्व, आयकर, भन्सार नीति, लेखा सम्बन्धि तालिम तथा प्रशिक्षण, सरकारी तथा गैरसरकारी निकायबाट सहयोग तथा अनुदानको लागि पहल, उपमहानगरपालिकाद्वारा आयोजना हुने सीप विकास सम्बन्धि कार्यक्रममा सहकार्य, भन्सार दरमा एकरुपताका लागि डेलिगेशन, वृक्षारोपण तथा संरक्षण, रक्तदान, वृद्धआश्रमहरुलाई सहयोग, प्राकृतिक दैवी प्रकोपमा परेकालाई सहयोग, कृषिमा संस्थागत सामूहिक लगानी, गैरसंस्थागत लगानी, आजीवन सदस्यता र मानार्थ सदस्यता विस्तार योजना रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij