
बिहिवार , माघ ११, २०८०
लुम्बिनी, ११ माघ ।
लुम्बिनी विकास कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य डा. ल्हारक्याल लामाको पहलमा मायादेवी मन्दिरको प्रवेशद्वारको पश्चिमपट्टी एकैपटकमा ८ हजार दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको बिहीबार उद्घाटन गरिएको हो ।
उपाध्यक्ष डा. लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो सेडको उद्घाटन गरेका हुन । उद्घाटनपछि उपाध्यक्ष डा. लामाले संसारभरका बौद्धमार्गीहरुले लुम्बिनी आएर बत्ती बाल्न इच्छुक हुने भएकाले दियो बाल्ने सेडले सुविधा थप्ने बताए । ‘दियो बाल्ने अठोटसहित दियो बाल्ने सेड बनाइएको हो, अझै चारवटा यस्तै सेड बनाउने योजना छ’ उनले भने, ‘व्यवस्थित रुपमा दियो सेडक स्थापना गरिएकाले शुल्क तिरेर सेवा लिन आग्रह छ ।’ उपाध्यक्ष डा. लामाले मायादेवी मन्दिरको अशोक स्तम्भ नजिकै दियो बाल्दा त्यसले असर पारेको गुनासो समेत आएकाले मन्दिर परिसर वाहिर दियो सेड निर्माण गरिएको बताए।
बौद्धमार्गीहरुले मायादेवी मन्दिरमा आएर बत्ति बाल्न इच्छुक भए पनि त्यसको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा आफूले अठोट गरे अनुसार काम गरेको उपाध्यक्ष डा. लामाको भनाइ छ । डा. लामाका अनुसार अन्यत्र लाखौं दियो बाल्नु र लुम्बिनीमा थोरै दियो बाल्नु बराबर हुने बौद्धिष्टहरुमा मान्यता छ ।
महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतिमा प्राय दियो बाल्ने प्रचलन रहन्छ । बौद्धमार्गीहरुको आस्था र विश्वासलाई मध्यनजर गरी दियो सेडक स्थापना गरिएको हो । दियो सेडले धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै कोषको आन्तरिक आम्दानी समेत वृद्धि गर्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए ।
उद्घाटनलगतै उपाध्यक्ष डा. लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो बालेर सुरुवात गरेका छन् । पहिलो ८ हजार सेडको १ लाख ३४ हजार रुपैयाँ रिपोन्छेहरुबाट प्राप्त भएको थियो । शुभारम्भकै दिन दियोबाट ३ लाख १३ हजार २ सय रुपैयाँ आम्दानी भएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij