
शुक्रवार , माघ १२, २०८०
काठमाडौं, १२ माघ । सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको व्यवसायीहरुले बताएका छन् ।
शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोन्दै व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको बताए । उनीहरुले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने बेलुका ट्रकमा गाउँगाउँमा पु¥याउने गरिएको बताए । उनीहरुले भन्सारमा आयातकर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने भनिए पनि कार्यान्वयन फितलो भइरहेको बताए । व्यवसायीहरुले व्यवसायीहरुलाई भन्सारमा सहजता बनाउनको लागि भन्सार प्रणालीलाई पूर्ण रुपमा डिजिटलाइज गर्न जरुरी रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रणालीलाई व्यवस्थित गर्नको लागि कारोबार मूल्यलाई मान्यता दिएर भन्सार लिने प्रक्रिया खारेज गर्नुपर्ने बताए । उनले यसलाई खोरज गरी औपचारिक व्यवसायीक वातावरण बनाउन आग्रह गरे ।उनले नेपालमा व्यवसायिक गतिविधि आधुनिक र प्राविधिमैत्री बन्दै भएकाले भन्सार प्रशासनलाईपूर्ण रुपमा डिजिटलाइज बनाएर राजश्वमा वृद्धि गर्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक बन्दै गएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ र सवल बनाउनको लागि कर्जाको दोब्बर ब्याजदरलाई सिङ्गल डिजिटमा ल्याउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए । उनले बैंकहरुमा रहेको ६ खर्ब भन्दा बढीको तरलतालाई चलायमान बनाउन घरजग्गा र शेयर कारोबारमा कायम रहेको जोखिम भार १२५ लाई घटाएर सयमा ल्याउन आवश्यक रहेको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भन्सारबाट हुने अवैध कारोबारको कारण सरकारले राजश्व गुमाइरहेको दाबी गरे । उनले सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्ने विषयमा ध्यान दिन माग गरे। उनले भारतबाट मालवाह सवारीहरु खाली फर्कन ७२ घण्टा र नेपालबाट सामान लिएर फर्कंदा थप ४८ घण्टामा भन्सारमा कुनै शुल्क नलाग्ने व्यवस्था गर्न माग गरे । उनले नेपालमा सामान लिन आउने सवारी साधनलाई दुई दिनसम्म शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने बताए । उनले भारतबाट नेपालमा सामान लिएर आउने मालवाहक सवारी साधनहरुलाई फिर्ता जान ७२ घण्टाको भन्दा बढी समय नेपालमा बस्नुपर्दा प्रतिदिन २ हजारका दरले थप शुल्क लाग्ने प्रावधान रहेको बताए । भारतबाट खाली सवारी साधन मगाउँदा प्रतिदिन २ हजार ५ सयका दरले भन्सार शुल्क लिने प्रावधानले नेपालबाट निर्यात हुने सिमेन्ट लगायत निर्यात जन्य वस्तुहरु महँगो हुन गई प्रतिष्पर्धी क्षमता गुमाइरहेको बताए ।
उनले आयात कर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि लगायतका मापदण्ड पूरा नगरेका वस्तुहरु आयात भइरहेकोमा यस्ता वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने व्यवस्था लागू भएपनि प्रावकारी कार्यान्वयन नभएको बताए । उनले आयात हुने वस्तुहरुको लेभलिङ लगाएको वा नलगाएको भन्नेबारे भन्सार बिन्दुमा जाँच गर्न आवश्यक रहेको बताए । उनले भारतबाट अवैध कारोबार हुनुमा १३ प्रतिशतको भ्याटको कारण भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij