
शुक्रवार , माघ १२, २०८०
रुपन्देही, १२ माघ ।
रुपन्देहीका उद्योगी–व्यवसायीहरुले आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेटमा उद्योग क्षेत्र सुधारका लागि गरिनुपर्ने विषयहरुलाई सुझावका रुपमा समेट्न नेपाल उद्योग परिसंघमार्फत सरकारलाई आग्रह गरेका छन् ।
परिसंघले सरकारले आगामी बजेटका विषयमा समेट्नुपर्ने सुझाव माग गरेपछि प्रदेश र जिल्ला तहमा रहेका उद्योगी व्यवसायीहरु समक्ष सुझाव लिने क्रममा पहिलोपटक रुपन्देहीबाट सुरु गरेको हो । उनीहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाएर उत्पादनमूलक उद्योग प्राथमिकतामा नपारेको, चर्को ब्याजदरका कारण धरासायी भएको, सिंगो व्यवस्था नै उद्योगमैत्री नरहेको र कर्जा भुक्तानीमा पनि समस्या रहेको बताएका छन् ।
उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने, महिला सुविधा कर्जा युवा उद्यमशिलता कर्जा, पुनकर्जा जस्ता कर्जाहरु विशेष गरी उत्पादनशील क्षेत्रमा प्राथमिकता दिनुपर्ने, उद्योग क्षेत्रमा गरिने ऋण लगानीको ब्याजदर एकल अंकमा हुनुपर्ने, उद्योगमा गरिने लगानीको ब्याजदर बेस रेटको आधारमा कायम गर्नुपर्ने, उद्योगीहरुले एलसी खोल्दा बखत राख्नुपर्ने १० प्रतिशतसम्म मार्जिन नगद रकम बिना ब्याज बैंकमा राख्नुपर्ने व्यवस्था अन्यायपूर्ण रहेकाले हटाउनुपर्ने, उद्योगीको रकम होल्ड गरिने र सो रकम कर्जाबाट होल्ड भएमा उद्योगीले ब्याज तिर्नुपर्ने व्यवस्था व्यवहारिक नभएकाले हटाउनुपर्ने र एलसीवापत जम्मा हुने रकम कर्जा वा बचत खातामा होल्ड गर्ने व्यवस्था गर्नुपर्ने तथा हालको विषम परिस्थितिलाई मध्यनजर गरी उद्योगहरुको विक्री क्षमता वृद्धि गर्न बैंकहरुले सरल रुपमा कर्जा प्रवाह गरी कर्जा भुक्तानीको समय सीमा स्वतः वृद्धि गर्दै लगेर चालु पूँजी कर्जा तत्काल लागू गर्न नहुने व्यवस्था समेट्न पहल गर्न आग्रह गरेका छन् ।
उद्योगीहरुले स्वदेशी लगानी वृद्धि हुँदा राष्ट्रिय अर्थतन्त्र मजबुत हुने, स्थानीय उद्योगी आत्मनिर्भर भए मात्रै स्थानीय अर्थतन्त्रको निर्माण हुने विषयमा ध्यान दिन आग्रह गरेका छन् । पूर्वाधार एवं नीतिगत सुधार गरेर अहिले भएका भन्सार नीति उद्योगीमैत्री बनाउन पहल गर्न उनीहरुले परिसंघका प्रतिनिधिलाई आग्रह गरेका हुन् ।
आयुर्वेद उद्योग संघका केन्द्रीय उपाध्यक्ष चन्द्रकान्त खनालले जडीबुटी आयातमा भन्सार थपिएको तर औषधीमा भन्सार नलागेकोले यहाँको उद्योगी कमजोर भएको बताए ।
उद्योगी रामप्रसाद बस्यालले नेपाल हेलमेट उद्योगमा आत्मनिर्भर हुने अवस्था भएकाले ४५ प्रतिशत भन्सार लगाउनुपर्ने सुझाए ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा महासचिव हिरामणी भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष रोहित गुप्ताले सरकारले आग्रह गरेअनुसार बजेट बनाउनु समयअगावै मागिएका सुझावका लागि सबै प्रदेश र जिल्लाबाट सुझाव संकलन थालिएको र पहिलोपटक रुपन्देही आएको जानकारी दिए । उनले परिसंघले उद्योगमैत्री बजेट बनाउन निरन्तर दवाव दिने, आवश्यक ऐनकानून निर्माण र संशोधनको लागि वकालत गर्ने काम गरिरहेको उनले बताए ।
कार्यक्रममा परिसंघका प्रदेश उपाध्यक्ष बाबुराम बोहोरा, उद्योगीहरु कृष्ण पराजुली, यादव भण्डारी, युवराज आचार्य, राजु घिमिरे, मिना थापालगायतले बजेटमा समेट्नुपर्ने सुझाव परिसंघको टोलीलाई दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij