
आइतवार , माघ १४, २०८०
रुपन्देही, १४ माघ ।
नेकपा (एमाले) की सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले अब मुलुक बचाउने जिम्मा एमालेको काँधमा आएको बताएकी छन् ।
‘पछिल्ला तथ्यांक डरलाग्दा आए । राजस्व उठ्ने क्रम पहिलाभन्दा प्रतिमहिना ४ अर्ब कम छ । व्यापार घाटा बढ्दो छ । २० करोडसम्म भारतले नेपालमा आएर सिधै खर्च गर्ने व्यवस्था डरलाग्दो हो । उनले भनिन्, ‘विभिन्न प्रकारका सूचना लिनका लागि यसप्रकारका माध्यम बनाइएको छ । ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई आइतबार रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
पूर्वमन्त्री समेत रहेकी अर्यालले दीर्घकालमा देश सुम्पने तरिकाले यो सरकारले काम गरेको बताइन् । उनले सरकारले गरेका सबैप्रकारका कुकर्मलाई जनताकाबीच राखेर राजनीतिको कोर्स परिवर्तन अवको आवश्यकता रहेको बताइन् । ‘अब मुलुक बचाउने एमालेले मात्र हो, ’उनले भनिन् ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य लिला गिरीले प्रदेश स्थापनाकालमा एमाले नेतृत्वमा बनेको सरकारले सबैभन्दा धेरै बजेट खर्च गरेको बताए । उनले एमाले नेतृत्व सरकारले कृषिको माध्यमबाट समृद्घ प्रदेश बनाउने प्रयत्न गरेकोमा त्यो सरकारलाई टिक्न नदिएर कार्यकर्ता पोस्ने र भ्रष्टाचारलाई संस्थागत गर्ने तरिकाले काम भएको बताए । नेता गिरीले यो विषयलाई जनताका बीचमा लैजान पार्टी पंक्ति सक्रिय हुन आवश्यक रहेको बताए ।
एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता, उपाध्यक्ष भोज प्रसाद श्रेष्ठको स्वागत तथा सचिव लक्ष्मण आचार्यको सञ्चालनमा बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रबाट प्राप्त परिपत्रको अध्ययन गरी यसअघि सचिवालय बैठकले गरेका निर्णयको अनुमोदन गर्दै तदनुसारको निर्देश कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
भूकम्पप्रभावित खासगरी पश्चिम रुकुम क्षेत्रमा २०५ जना स्वयंसेवक खटाएकोमा सो अभियान प्रभावकारी रहेको बैठकले निष्कर्ष निकालेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत् समृद्धिका लागि संकल्प यात्रामा पूर्वी रुकुम र गुल्मीले गरेको कामको उच्च मूल्यांकन गर्दै बैठकले धन्यवाद ज्ञापन गरेको छ । साथै बैठकले राष्ट्रिय सभामा सिफारिस गरेका नामको पनि अनुमोदन गरेको छ ।
बैठकले सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च र ३१ वटा विभागहरुलाई पूर्णता दिएको छ । यसबाहेक केन्द्रीय निकाय, सल्लाहकार परिषद र सिफारिस गर्नुपर्ने नामको सिफारिस गरेको छ ।
बैठकले जिल्ला तथा पालिका र वडास्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक निर्णय गरेको छ । साथै.सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्ने निर्णय गर्नुका साथै जिल्ला र मातहत कमिटीका अधिवेशन गर्नका लागि निर्देश गरेको छ ।
त्यस्तै जनसंगठनका सन्दर्भमा पनि प्रदेश, जिल्ला तथा मातहत कमिटीका सम्मेलन, बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने र प्रदेश जनसंगठन संयन्त्रको बैठक सञ्चालन गर्नका लागि पनि आवश्यक निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पार्टी अध्यक्षहरुले जिल्ला तथा मातहत कमिटीको बैठकको अवस्था, पालिका तथा वडा अधिवेशनको अवस्था, जनसंगठनको अवस्था, प्रशिक्षण कार्यक्रमको तयारी अवस्थामा केन्द्रीत रही आ–आफ्नो जिल्लाको रिपोर्टिङ गरेको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij