भैरहवा, १४ माघ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । लुम्बिनी पुगेका नेताद्वयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका हुन् । उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरुको जानकारी गराउँदै लुम्बिनीको विकासका निम्ति गरेका पछिल्ला प्रयासहरु जानकारी गराएका थिए ।
पुन र प्रतिनिधि सभाका पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर अशोक स्तम्भ, पुष्करणी पोखरीको भ्रमण गरे । भ्रमणपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै पूर्वअर्थमन्त्री वर्षमान पुनले लुम्बिनीबाट विश्व शान्ति र सहअस्त्वितको सन्देश फैलाउन सकिने बताए । उनले नयाँ उपाध्यक्षका रुपमा डा. लामाको उपस्थितिले आशा जगाएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनी अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको बताए ।
नेता पुनले लुम्बिनीको विश्वमाझ अझै प्रचार हुन नसकेको बताउँदै उपाध्यक्षसहितको टीमले त्यसलाई केही रुपमा अघि बढाएको समाचार सुनेको बताए । ‘लुम्बिनी विश्वसामू चिनाउन सकिएकोे छैन । नयाँ उपाध्यक्षको कार्यकालमा विश्वसामू चिनाउन लाग्नुभएको छ, अझै लाग्नुहुनेछ’ उनले भने ।
उनले बुद्ध दर्शन शान्ति, मेलमिलाप र सहअस्तित्वको दर्शन रहेको बताउँदै गुटरेसले गरेको विश्व शान्तिको आह्वानको अर्थ रहेको बताए । उनले सबै धर्मकाबीच सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश लुम्बिनीबाट दिन सक्नुपर्ने बताए ।
पुनसहितको टोलीले लुम्बिनीमा हालै दैनिक एक लाखसम्म दियो बाल्न मिल्ने दियो स्थलमा दियो समेत बालेका थिए । त्यस्तै मोन्लम पुजामा समेत अवलोकन गरे । पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका सांसद् दिपेन्द्र पुनको समेत सहभागीता रहेका थियो ।
उक्त अवसरमा उपाध्यक्ष डा. लामासँगै योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य श्याम रोक्काले पूर्वमन्त्री पुनसहितको टोलीलाई लुम्बिनीमा स्वागत गरेका थिए ।