२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

२५ हजार भारुको सीमा हटाउन माग

सोमवार , माघ १५, २०८०

  • 706
    Shares
  • 706
    Shares
  • भैरहवा, १५ माघ ।
    नेपाल आउने भारतीय पर्यटकलाई भारु २५ हजारसम्म मात्र ल्याउन पाउने सीमा तोकिदा पर्यटन क्षेत्र मारमा परेको छ । सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भ्रमणमा आउने तर, त्यही पर्यटकलाई नेपाल ल्याउने रकमको सीमा तोकिदा समस्या भएको व्यवसायी बताउँछन् ।

    सामाजिक अभियन्ता तथा अधिवक्ता प्रख्यात बन्जाडेले भारतीय पर्यटक नेपाल घुम्न आउँदा २५ हजार रुपैयाँ लिएर मात्र आउने सरकारको निर्णय अविलम्ब सच्याउनुपर्ने बताए । उनले भने, ‘धेरैभन्दा धेरै पर्यटक नेपाल भित्राउन नेपाल सरकारको गम्भिर ध्यानाकर्षण होस् ।’ सरकारले निर्णय नसच्याए अदालतको ढोका ढकढकाउन बाध्य हुने बन्जाडेले बताए । उनले भने, ‘सरकारको यो निर्णय नसच्चिए कानूनी उपचारमा जानेछौं ।’
    उनले सम्पूर्ण सीमा नाकाको सडकको राम्रो व्यवस्था र सरसफाईमा विशेष ध्यान दिनुपर्ने माग गरे ।

    Prakhyat banjade.jpg
    अधिवक्ता प्रख्यात बन्जाडे

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका महासचिव तथा पर्यटन व्यवसायी संजय बजिमयले भारतीय पर्यटकलाई २५ हजार भन्दा बढी भारु रुपैयाँ ल्याउन नदिदा नेपालमा आउने पर्यटकले सोचेअनुरुप खर्च गर्न नसकेको बताए । यसले गर्दा पर्यटन क्षेत्रको विकासमा बाधा पुगेको उनले बताए । सिद्धार्थ सञ्जाल, रुपन्देहीले आइतबार प्रतिनिधि सभा सदस्य मनिष झासँगको भेटघाट तथा अन्तरिक्रया कार्यक्रममा महासचिव बजिमयले गुनासो गरेका हुन् ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भारतीय पर्यटकले रु. २५ हजार भारुभन्दा बढी रकम लिएर नेपाल आउन नपाउने नियम अव्यवहारिक भएकोले रकमको सीमा बढाउनुपर्ने माग गरे ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले भारतीय पर्यटकलाई कम्तीमा ४ देखि साढे ४ लाख भारु रुपैयाँसम्म बोकेर नेपालमा ल्याउन दिनुपर्ने बताए । उनले पर्यटनको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने र यसका लागि पर्यटकले चाहे जति रकम खर्च गर्न पाउनुपर्ने बताए ।

    नेपाल आउने पर्यटकलाई अधिकतम २५ हजार भारु मात्र बोकेर आउने सीमा तोकिएको छ । यो नियमअनुसार नेपाल प्रवेश गर्ने एक भारतीय नागरिकले एकपटकमा २५ हजार भारुभन्दा बढी बोकेमा त्यस्तो पैसालाई अवैध मानिन्छ । यसले खर्च गर्न चाहने पर्यटकलाई निरुत्साहित गरिरहेको पर्यटन व्यवसायीहरूको गुनासो छ ।