२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा

बुधवार , माघ २४, २०८०

भैरहवा, २४ माघ ।
भैरहवामा यसै वर्ष पाँचतारे होटल ’सिद्धार्थ भिलाषा’, विभिन्न स्तरीय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यो ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरि करिब ३ दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ ।

२६ वर्ष अगाडि टिकापुरबाट सुरु भएको यस ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ ।

मंगलबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्डसमेत वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुप अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धीमूलक रहेको बताए । उनले भने, ‘यो गुणस्तरयुक्त आर्थिक रुपमा सक्षम र व्यवस्थित हस्पिटालिटी कम्पनीलाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो ।’

सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी १ हप्तासम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।

IMG-20240206-WA0001.jpg

गत वर्षको उपलब्धी 

पछिल्लो वर्ष सिद्धार्थ हस्पिटालिटीको भैरहवामा पाँचतारे होटल र चितवनको सौराहमा लग्जरी रिसोर्ट सञ्चालनमा आएको छ । गतवर्ष नै नेपालगञ्ज स्थित होटलले पर्यटन क्षेत्रको प्रतिष्ठित साटा अवार्ड पाएको छ भने पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्ट र सुर्खेतस्थित सिद्धार्थ रिसोर्टले नेपाल सरकारबाट खाद्य गुणस्तरमा ‘अतिउत्तम’ वर्गीकरण प्राप्त गर्न सफल भएका छन् । गत वर्ष नै सुर्खेतको रिसोर्टले ३७ कोठा, वेलनेस सेन्टर (स्विमिङ पुल, हेल्थ क्लब, स्पा) र रेष्टुरेण्ट थप गरी चारतारे स्तरमा स्तरउन्नति गरेको छ ।

सामाजिक उत्तरदायित्वमा सिद्धार्थ

हस्पिटालिटीले सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफारहित संस्था ‘साकार’ मार्फत सप्ताहव्यापी विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विभिन्न आउटलेटहरुमार्फत रक्तदान, सरसफाई, अनाथ आश्रमहरुमा खाना वितरण तथा विद्यार्थीहरुलाई शिक्षण सामाग्री लगायत आवश्यक सामाग्री वितरण गर्ने कार्यक्रम गरिएको न्यौपानेले जानकारी दिए ।

यस वर्ष ‘साकार’ मार्फत ग्रुपले क्यान्सर तथा मृगौलापीडितलाई आर्थिक सहयोग गरेको र रुकुम–जाजरकोटमा गएको भूकम्पका पीडितहरूलाई राहत स्वरुप ५ लाख रुपैयाँको सामग्री सहयोग गरिएको न्यौपानेले जानकारी दिए।

हस्पिटालिटीसँगै अन्य व्यवसाय

यस ग्रुपले हस्पिटालिटीसँगै सिद्धार्थ ट्रेडिङ्ग कन्सर्न, सिद्धार्थ इन्ष्टिच्युट अफ हस्पिटालिटी, सिद्धार्थ बायोटिका (कृषि फर्म), सर्व टेक्नोलोजीज् लगायत कम्पनीमार्फत विभिन्न क्षेत्रमा व्यवसाय अगाडि बढाइरहेको छ ।

आगामी योजना
सिद्धार्थ ग्रुपले ’भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ ।

आगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटीमा ब्यांक्वेटसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याउने योजना छ ।

त्यस्तै आगामी वर्षभित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्ट र कपिलवस्तुको चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टलाई चारतारे होटलमा स्तरउन्नति गर्ने योजनाअनुरुप काम भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।