
बिहिवार , माघ २५, २०८०
माघ २५, २०८० बिहीबार। पूर्वअर्थमन्त्री डा।युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताएका छन् ।
मंगलवार नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको मुलुकको वर्तमान आर्थिक परिसूचकमा विदेशी मुद्रा सञ्चिति र विप्रेशण रेमिट्यान्स मा वृद्धि भएको तथ्याङ्कलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने बताएका हुन । पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र र वाह्य क्षेत्र मध्ये अहिले राम्रो भएको वाह्य क्षेत्र मात्रै भएको दाबी गरे । उनले वाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक रुपमा अर्थतन्त्रमा सुधार नआएको भन्दै सरकारले अर्थतन्त्र लयमा आयो भनेर भन्नु धर्म निर्वाह गर्नु मात्रै भएको टिप्पणी गरे ।
उनले सरकारको आन्तरिक खर्च, वित्तीय प्रणालीमा हुने खर्च र उत्पादन वृद्धि नहुँदा वाह्य क्षेत्रबाट हुने मागमा कमी हुँदा विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको बताए। उनले उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र गरी तीनवटा क्षेत्रमा आएको मन्दी र समस्याको परिणाम स्वरुप चौथो वाह्य क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको दाबी गरे। पूर्वअर्थमन्त्री खतिवडाले दुई वर्षको बीचमा निर्यात ४० प्रतिशतले घटेको भन्दै चालु आर्थिक वर्ष सकिँदा अढाई वर्ष अगाडिको भन्दा निर्यात आधा हुने अवस्था देखिएको बताए।
उनले वैदेशिक रोजगारीमा हरेक वर्ष ८ लाख नेपाली युवाहरु जाने र पछिल्लो दुई वर्षमा १५ लाख युवाहरु विदेश गएकोले उनीहरुले पठाएको रेमिट्यान्सको कारण विदेशी मुद्राको सञ्चिति बढेको बताए । उनले पर्यटकको आगमन वृद्धि भयो भन्दैमा पनि सरकारले सन्तुष्टि लिन नमिल्ने पनि बताए । उनले पर्यटकहरुले खर्च गर्ने र लगानीको भएको लाभलाई हिसाव नगरी आम्दानीको कुरा गर्नुको अर्थ नहुने तर्क गरे । डा।खतिवडाले निर्माण क्षेत्र नकारात्मक रुपमा प्रभावित भएको र आयात कम भएपछि ढुवानी तथा यातायात व्यवसाय अवरुद्ध रहेको बताए।
उनले चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने बताए । उनले अघिल्लो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएको भए अहिले ४ प्रतिशतको वृद्धि ठिक मान्न सकिने उल्लेख गरे । डा। खतिवडाले सरकारको राजश्व चालु आर्थिक वर्षमा ३ देखि ४ खर्बले कम हुने संकेत रहेकोले पनि देश गहिरो आर्थिक मन्दिमा जाने बताए । उनले १४ खर्ब २२ अर्ब राजश्व संकलन गर्ने सरकारको लक्ष्य भएपनि ११ खर्ब पनि राजश्व उठाउन मुस्किल रहेको बताए।
उनले वित्तीय प्रणालीमा खराब कर्जा बढ्दै जाँदा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा रहेको दाबी गरे। उनले राष्ट्र बैंकले पुनःतालिकिकरण गर्न दिएको म्याद थपि नरहने हो भने असार मसान्तसम्ममा धेरै बैंकहरुको वित्तीय अवस्था कमजोर बन्ने निश्चित रहेको बताए । उनले यस्तो अवस्थामा पनि मुलुक आर्थिक संकटकै अवस्थामा नपुगे पनि चरम आर्थिक मन्दीमा पुग्ने दाबी गरे।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij