२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लुम्बिनी विकास बैंकद्वारा रण अम्बिका आँखा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

बिहिवार , माघ २५, २०८०

  • 988
    Shares
  • 988
    Shares
  • भैरहवा, २५ माघ ।
    लुम्बिनी विकास बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताललाई ‘माइक्रो कन्ट्रोलर वेस अटो क्रेभ होरीजेन्टल मेसिन’ (मेडिकल उपकरण) खरिदका लागि रकम हस्तान्तरण गरेको छ । 

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई बिहीबार १७ लाख ३६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । अस्पतालको सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार बैंकले प्रदान गरेको रकममा थपेर २३ लाख ७५ हजार ५ सय रुपैयाँको मेडिकल उपकरण (मेसिन) खरिद गरी अस्पतालमा जडान गरिसकिएको छ ।

    अस्पतालमा उपचारार्थ बिरामीहरुको सुविधालाई मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेसिनका लागि बैंकले सहयोग गरेको हो ।

    कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले प्रत्येक वर्ष मुनाफाको निश्चित प्रतिशत सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गरिदै आएको बताए । उनले भने, ‘हामी भाग्यमानी छौं, आँखा अस्पतालमा यति ठूलो रकम सहयोग गर्न पाएका छौं ।’ अध्यक्ष भट्टराईले आगामी दिनमा पनि अस्पतालसँग सहकार्य गर्ने र अस्पतालले भविष्यमा गर्न सेवा विस्तारमा बैंककोतर्फबाट सहयोग रहने बताए ।

    श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले अस्पतालले बिरामीको उपचार सेवासँग यहाँ आवश्यक जनशक्तिको व्यवस्थापनका लागि अध्यापन पनि भइरहेको बताए । उनले भने, ‘यो संस्था यहाँसम्म पुग्नुमा यहाँहरु जस्तो मनकारी व्यक्ति र संस्थाहरुको साथ छ । ’  

    उनले नेपाल नेत्र ज्योति संघले २७ वटा अस्पताल निर्माण गरी आँखा रोगको निवारणका लागि काम गर्दै आएको बताए । आँखाको क्षेत्रमा काम गर्दै सरकारलाई सहयोग गर्दै आएको उनको भनाइ छ ।

    अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रा.डा. ज्ञानेन्द्र लामिछानेको स्वागत तथा सूचना अधिकारी प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।