२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रास्वपाप्रति गगनको टिप्पणी : जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्

शुक्रवार , माघ २६, २०८०

काठमाडौं, २६ माघ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् । 

शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भग लिएको जस्तो देखिएपनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको बताए ।

उनले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिजाँईको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताए ।

उनले भने, ‘आज हाम्रो संविधानमाथि आएका प्रहार कहाँबाट आएका छन् । एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन् । तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएका हो । तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ ।

तिनीहरु हिजोको अध्याँरोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ । त्यो पुनःरुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ । योसँगै अर्को एउटा प्रवृत्ति आएको छ । जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ ।

जसले निर्वाचनमा भग लिएको जस्तो देखिन्छ तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ । यसले हाम्रो संघर्षका दिनहरुलाई डिसमिस गर्दछ । यसले गणेशमान मान्दैन, यसले बिपी कोईराला मान्दैन । यसले २०४६ सालको आन्दोलन मान्दैन । यसले ०६२ सालको आन्दोलन मान्दैन । यसले हाम्रो संघर्षको उपहास गर्दछ । यसले विधि, प्रक्रिया मान्दैन ।

म जादुगर हुँ भनेर आउँछ, यो पनि यो लोकरिजाँईको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ । संविधान माथिको प्रहारहरु छ भनेर यसको विवेचना गर्ने यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो ।’ 

महामन्त्री थापाले नेपाली काँग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए । उनले देश सम्हाल्ने काम काँग्रेसको भएको बताए । उनले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताए ।