२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

आत्महत्या न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

बुधवार , आश्विन १४, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • भैरहवा, १४ असोज । आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीको भैरहवामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

    हिमाली सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर–७, ८ र ९ को आयोजना तथा श्री स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–९, गोलिगढको सहकार्यमा बुधबार सहकारी संस्थाको भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा आत्महत्याका कारण, जोखिमका संकेत, मानसिक स्वास्थ्यको महत्व तथा आत्महत्या रोकथामका लागि परिवार, समुदाय र सरोकारवाला निकायको भूमिकाबारे जानकारी गराइएको थियो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीकी प्रहरी निरीक्षक कल्पना घर्ती र मनोपरामर्शदाता मन्जु कार्कीले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमै पहिचान गरी मनोवैज्ञानिक सहयोग, पारिवारिक साथ र आवश्यक परे विशेषज्ञ सेवासम्म पुर्याउनुपर्ने बताउनुभयो ।

    dde.JPG


    कार्यक्रममा श्री स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष लता पोख्रेलले आफ्नो संस्थाको भवनमा कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो । आत्महत्या न्यूनीकरणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले मानिसले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    हिमाली सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर–७, ८ र ९ का उपाध्यक्ष विष्णु मरासिनीले यस्ता कार्यक्रम विगतमा पनि आयोजना हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय मोबाइलको गलत प्रयोगका कारण विभिन्न समस्या बढिरहेको बताउनुभयो । उनले आत्महत्या न्यूनीकरणका लागि निरन्तर जनचेतना आवश्यक रहेको धारणा राख्नुभयो ।

    हेभेन्ली गार्डेन किड्स क्याम्पस, भैरहवाको प्रिन्सिपल रचना क्षेत्रीले मोबाइल र अभिभावकलाई मात्र दोष दिएर समस्या समाधान नहुने बताउनुभयो । आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई एकदिने कार्यक्रमका रूपमा मात्र नभई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

    सिद्धार्थनगर नगरपालिका–९ का वडा सदस्य बसन्त भट्टराईले गत वर्ष पनि वडा कार्यालयले यस्तै कार्यक्रम आयोजना गरेको स्मरण गर्नुभयो । उहाँले आत्महत्या न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

    हिमाली सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर–७, ८ र ९ को उपाध्यक्ष विष्णु मरासिनीको अध्यक्षता तथा सह–सचिव सरिता रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    dfff.JPG