२०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

बाढीमा जोगिएको सुस्ता : समयमै सुरक्षाकर्मी र स्थानीयको तत्परता

बुधवार , आश्विन १४, २०८३

  • 274
    Shares
  • 274
    Shares
  • पश्चिम नवलपरासी, १४ असोज । अविरल वर्षासँगै उग्र बनेको नारायणी नदीको बाढीले यस टक पनि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तालाई जोखिमको घेरामा पार्यो । तर, अन्य वर्षहरूको तुलनामा यसपटकको दृश्य भने फरक देखियो ।

    बाढीको विपद् घट्नुअघि नै सबै सुरक्षा निकाय र स्वयं सुस्ताबासीको सहकार्य तथा तत्परताका कारण करिब ११ सय सुस्ताबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी ठूलो सम्भावित क्षतिबाट जोगाउन सफलता मिलेको छ ।
    समयमै भएको उद्धार र सुरक्षित स्थानान्तरणकै कारण यसपटकको भीषण वर्षामा पनि सुस्ताबासी जोगिन सफल भएका हुन् ।

    बाढीको जोखिम उच्च बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल, सशस्त्र प्रहरी बल २६ नं. गण नवलपरासीका  प्रमुख  (एसपी) गोबिन्द  बहादुर खत्री तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापा केसी आफै फिल्ड (सुस्ता) मै पुगेर उद्धार कार्यमा खटिनुभएको थियो । सुरक्षा निकायका प्रमुखहरू आफै अग्रपंक्तिमा रहेर उद्धारमा जुटेपछि स्थानीयबासीमा नयाँ आशा र हौसला थपियो ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सुस्ताका स्थानीयबासी काँधमा काँध मिलाएर खटिएपछि जोखिममा परेका बालबालिका, वृद्धवृद्धा तथा महिलाहरूसहित आम नागरिकलाई सुस्ता वारीस्थित वीपी माध्यमिक विद्यालयको भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरियो । विपद्को घडीमा सुरक्षा निकायले खेलेको यो द्रुत र प्रभावकारी भूमिकाप्रति अहिले सिंगो सुस्ताबासी गौरवान्वित बनेका छन् ।

    सुस्ताबासी रवीन्द्र जयसवाल भन्नुहुन्छ–‘बाढी बढ्दै जाँदा हामी निकै डराएका थियौं । तर, सुरक्षा प्रमुखहरू नै आफै फिल्डमा आएर खटिनुभएको देख्दा ठूलो ढाडस मिल्यो । समयमै उद्धार नभएको भए ठूलो दुर्घटना हुन सक्थ्यो। । सुरक्षाकर्मी साथीहरूको यो योगदानप्रति हामीलाई गर्व छ ।’

    त्यस्तै अर्का सुस्ताबासी मुन्सी कुमारले भन्नुभयो–‘आपत्कालीन समयमा सुरक्षा निकाय र सुस्ताबासीको जुन सहकार्य देखियो, त्यसैका कारण आज हामी जोगिएका छौं । सुरक्षाकर्मी र गाउँलेको संयुक्त प्रयासले ठूलो क्षति हुन दिएन । समयमै भएको स्थानान्तरण हाम्रा लागि वरदान साबित भयो ।’