
शुक्रवार , माघ २६, २०८०
रुपन्देही, २६ माघ ।
रुपन्देहीमा अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादन कार्य ठप्प भएको उद्योगीले गुनासो गरेका छन् । केही समययता विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगीले २४ घण्टा नै केही दिनदेखि अघोषित रूपमा लोडसेडिङको मारमा परेको बताए ।
३३ केभिए तथा ११ केभिए औद्योगिक कोरिडोरका उद्योगहरुमा विगत केही दिनदेखि २४ घण्टै अघोषित विद्युत कटौती भइरहेको रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले बताए ।
उद्योगहरुमा भएको अघोषित लोडसेडिङले उद्योगहरुको उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रेको, बजारमा मालवस्तुको अभाव सिर्जना भइसकेको तथा मूल्यवृद्धि हुने डर रहेको उनले बताए । उनले भने, ‘यस्तो आर्थिक संंकटमा उद्योग चलाउनुपरेको छ, अघोषित विद्युत कटौतीले झनै संकटमा पार्यो, विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको कारण निर्वाध रुपमा उद्योगहरु सञ्चालन हुन नसकी उद्योगहरु बन्द हुन स्थितिमा पुगेका छन् ।’
राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगहरुलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाइ उद्योग सञ्चालनको वातावरण सिर्जना गर्न उनले माग गरे ।
उद्योगमा पटकपटक विद्युत कटौती भएकाले उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रदेश कार्यालयमार्फत प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत रुपन्देही उद्योग संघले शुक्रबार ध्यानाकर्षण गराएको छ ।
उद्योगमा केही समययता दैनिक १२ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ रहेको उद्योगीहरुको भनाइ छ । जसले उद्योग सञ्चालनमा समस्या आएको उद्योग संघका निवर्तमान अध्यक्ष माधव पौडेलले बताए । उनले उद्योग सञ्चालन हुन नसक्दा आपूर्तिमा असहज हुने चिन्ता व्यक्त गरे । उनले भने, ‘उद्योग सञ्चालन हुन नसके मूल्यवृद्धि हुन सक्छ, सामान आयात गर्नुपर्ने अवस्था आउँछ, जसले गर्दा व्यापार घाटा पनि बढ्छ ।’
पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले प्राधिकरणले विद्युत दिन नसक्ने भए पूरै उद्योग बन्द गर्न तयार रहेको तर यसरी सूचना बिना कटौती गरेर थला परेका उद्योगीलाई थप हतोत्साहित नबनाउन आग्रह गरे । ‘यसै पनि हाम्रा उद्योग आधा चलेका छैनन्, यस्तो समयमा हामीले कुन समयमा काम गरेर उद्योग थेग्ने अवस्थामा छौं, त्यसमाथि जुनसुकै बेला कटौती गरेपपछि कतिबेला चलाउने ?’ उनले प्रश्न गरे ।
संघका महासचिव तथा बुटवल औद्योगिक क्षेत्रका उद्योगी हिरामणि भट्टराईले अनियमित विद्युत कटौती गर्ने समस्या आए तत्काल सूचना दिन माग गरे ।
‘देशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौं । समस्या भए लोडसेडिङको तालिका दिनुपर्यो’ उनले भने । लोडसेडिङ गर्ने भए तालिका बनाएर उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुनुपर्ने उनको माग छ । उद्योग सञ्चालन गर्न नपाइने भए लिखित रुपमा जानकारी गराउनुपर्ने उद्योगीको माग छ ।
रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा–बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेको उद्योगी बताउँछन् ।
उद्योगी तथा रुपन्देही उद्योग संंघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योगलिे माग गरेअनुसार तत्काल समय तालिकाअनुसार विद्युत कटौती गर्न र उद्योगीहरुको माग पूरा गर्न आग्रह गरे ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख ई. हरिप्रसाद पाण्डेले विद्युत आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताए । उनले भने, ‘आएको विद्युत हामीले वितरण गर्ने हो, उद्योगहरुको माग अनुसारको आपूर्ति नभएकोले विद्युत अनियमित हुने गरेको हो, यो अघोषित कटौती हो लोडसेडिङ होइन । ’ उनले प्रदेशमा अहिले के कति समस्या भएको हो भनेर केही दिनमा तथ्यांक निकालेर उद्योगीसँग समन्वय गरेर तालिका निकाल्ने बताए । उनले अहिले पानी नपरेर उत्पादन कम भएको, र भारतबाट चाहे जति किन्न नसकिएकाले समस्या भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij