
सोमवार , माघ २९, २०८०
बुटवल, २९ माघ ।
बुटवलमा पनि एक कार्यक्रमको आयोजना गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवस मनाइएको छ । आयोगको बुटवलस्थित प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार मुलुकको सबैभन्दा ठुलो शत्रु भएको बताए ।
मुलुक संघीयतामा प्रवेश गरेको लामो समयसम्म सरकार र कर्मचारीमा केन्द्रिकृत मानसिकता कायमै रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारी कडा भन्दा कडा दण्ड सजायको व्यवस्था गरेमा मात्र नियन्त्रण हुने तर्क गरे ।
उनले भ्रष्टाचार, अनियमिता र दण्डहिनताको अन्त्यका साथै पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि तीनै तहका सरकार र कर्मचारीतन्त्रबस्च सहकार्य आवश्यक रहेको समेत बताए । प्रदेश प्रमुख शेरचनले भने, ‘जनप्रतिनिधि र कर्मचारीतन्त्रमा नीति राम्रो भएर मात्रै पुग्दैन नियत पनि राम्रो हुनुपर्छ ।’
सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकारले नयाँ कार्यनीति अघि सारेको उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । जनप्रतिनिधि र कर्मचारीमा निष्पक्षता, निर्भिकता र सदाचार अनिवार्य आवश्यक रहेको चर्चा गर्दै मुख्यमन्त्री चौधरीले भ्रष्टाचार गर्नेहरु मुलुकको समृद्धिका प्रमुख बाधक समेत रहेको उल्लेख गरे ।
त्यसै गरी लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले प्रशासनिक र वित्तीय संरचनाबीच समन्वय नहुँदा भ्रष्टाचार, अनियमिता र आर्थिक अराजकता मौलाएको दावी गरे । उनले पनि जनप्रतिनिधि र कर्मचारीमा नियत सफा हुनु आवश्यक रहेको धारणा राखे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्थानीय तहलाई अधिकारसम्पन्न र आर्थिक रुपले बलियो बनाएमा भ्रष्टाचार नियन्त्रण हुने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij