२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

अनेमसंघले दियो महिलाहरुलाई स्वास्थ्य सम्बन्धी प्रशिक्षण

सोमवार , माघ २९, २०८०

  • 868
    Shares
  • 868
    Shares
  • बुटवल, २९ माघ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) ले रुपन्देहीको बुटवलमा आफ्ना सदस्यहरुलाई स्वास्थ्यसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको छ ।

    अनेमसंघ क्षेत्र नम्बर २ रुपन्देहीले विशेषज्ञ चिकित्सक बोलाएर आफ्ना सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमको संयोजन एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग रुपन्देहीले गरेको थियो ।

    प्रशिक्षणअघि सहभागीहरुको निःशुल्क मधुमेह र कोलेस्ट्रेरोल परीक्षण गरिएको छ । जसमा एशियन डाइग्नोष्टिक ल्याव्रोटोरी बुटवलले प्राविधिक सहयोग गरेको थियो । 

    महिला कार्यकर्तालाई प्रशिक्षण दिंदै देवदह मेडिकल कलेज तथा इन्द्रेणी हेल्थ क्लिनिकमा कार्यरत नसा, टाउको तथा मनोरोग विशेषज्ञ डा. राजेश श्रेष्ठले मानिसको बदलिंदो जीवनशैली, यसले पार्ने शारीरिक र मानसिक समस्या, खानपानलगायतका विविध विषयमा जानकारी दिएका थिए ।

    डा. श्रेष्ठले तनाव व्यवस्थापनका उपाय, शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि गरिनुपर्ने दैनिक क्रियाकलापलगायतका विषयमा पनि प्रकाश पारेका थिए । 

    त्यस अवसरमा एमाले केन्द्रीय सदस्य गुमादेवी आचार्य, अनेमसंघ केन्द्रीय सदस्य एवं रुपन्देही इञ्चार्ज ज्ञानु केसी, सह–इञ्चार्ज कल्पना थापा, अनेमसंघ लुम्बिनी प्रदेश कमिटी सदस्य पुनम लिगल, अनेमसंघ क्षेत्रीय अध्यक्ष वसन्ती भुसाल, उपाध्यक्ष मना ढकाल, सचिव कमला ज्ञवाली लगायतले स्वास्थ्य सम्बन्धी यस्ता प्रशिक्षण आगामी दिनमा पनि जरुरी रहेको भन्दै यसबाट व्यवहार परिवर्तमा पनि सघाउ पुग्ने बताएका थिए ।

    एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग रुपन्देहीका प्रमुख सुनिल श्रेष्ठका अनुसार विभागले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण समेत सम्पन्न गरिसकेको छ । अहिले विकराल बन्दै गइरहेको मधुमेह र मृगौला सम्बन्धी समस्या, तनावरहित जीवनका निम्ति पाँचवटै क्षेत्रमा स्वास्थ्य सचेतना जस्ता कार्यक्रमको योजना विभागले बनाएको पनि उनले बताए । श्रेष्ठले चिकित्सकसँग जनता कार्यक्रम गर्ने योजना रहेको भन्दै यसबाट उपचार खर्च मंहगो भयो भन्ने गुनासोलाई सम्बोधन गरिने र चिकित्सकको सुरक्षाको लागि समेत सहजीकरण हुने बताए । उनले युवा र विद्यार्थी पनि कुलतमा फस्ने प्रवृत्ति बढेकाले शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुपर्ने सन्देशसहित कार्यक्रम गर्न लागिएको जानकारी दिए ।