२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सहकारीमा बेथिति रोक्नको लागि सबैले सहयोग गर्नुपर्छ : गृहमन्त्री पाण्डेय

सोमवार , माघ २९, २०८०

रुपन्देही, २९ माघ ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सहकारीमा बेथिति रोक्नको लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । उनले सहकारीको  मूल सिद्वान्त भन्दा बाहिर जाँदा सहकारीमा समस्या देखिएको भन्दै बेथिति गर्नेहरू जो भए पनि सरकारले कानूनी दायरामा ल्याउने बताए । 

रुपन्देही बचत तथा ऋण सहकारी संघ लि.को १८ औं स्थापना दिवसको अवसरमा सोमवार बुटवलमा आयोजित मूल समारोहमा बोल्दै मन्त्री पाण्डेयले लुम्बिनी प्रदेशमा देखिएका सहकारीका समस्या समाधान गर्नको लागि सरकार तयार रहेको बताए । 
उनले सहकारीले आर्थिक क्षेत्रमा ठुलो योगदान दिएको स्मरण गर्दै  पछिल्लो समय केही सहकारीहरूमा देखिएको कारणले समग्र सहकारी क्षेत्रप्रति आशंका उत्पन्न भएका बताए । उनले आशंका हटाउनको लागि सहकारीका अभियन्यताहरुले जोड दिनुपर्ने बताए । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सहकारीमा गलत गर्नेलाई कानून अनुसार कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ, नेपालका अध्यक्ष चन्द्र ढकालले अहिले सहकारीहरूको डुबेको ऋण उठाउनु नै मुख्य चुनौती रहेको बताए । उनले देशका कुनै पनि सहकारीले सञ्चालकले गलत गर्ने छुट नभएको बताए । उनले अहिले केही गलत मनसायमा ऋण र सञ्चालकहरू भएको कारणले यस्तो अवस्था आए पनि त्यसलाई विस्तारै सही ठाउँमा ल्याउने बताए । उनले सहकारीमा सुशासन कायम गर्नको लागि आफूहरू लागिरहेको बताए । 

कार्यक्रमका सहकारी संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद नेपाल, राष्ट्रिय सहकारी बोर्डका कार्यकारी सदस्य सन्दिप सापकोटा, सहकारी अभियन्ता भीम तुलाचन, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त ढकाल, नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, वरिष्ठ पत्रकार दामोदर खनाल लगायतले बोल्दै सहकारी मर्म भन्दा बाहिर कोही पनि जान नहुने बताए।

उनीहरूले विश्वभर देखिएको आर्थिक समस्या कारणले पनि सहकारीमा प्रभाव परेको बताएका थिए । स्थापना दिवसको अवसरमा रुपन्देहीमा तीन दिन विभिन्न कार्यक्रम गरी सोमबार मूल समारोह गरिएको जिल्ला सचिव बाबुराम बन्जाडेले बताए ।

आज बिहान बुटवलमा र्याली निकालिएको थियो भने आइतबार (हिजो) विद्यालयमा सहकारी सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो  । 

उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार केसीलाई 

रुपन्देही बचत तथा ऋण सहकारी संघ लि. र नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा प्रत्येक वर्ष प्रदान गरिने सहकारी पुरस्कार यस वर्ष पत्रकार तेजेन्द्र केसीलाई प्रदान गरिएको छ । 

सोमबार संघको १८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा रातोपाटी (डटकम) अनलाइन लुम्बिनी प्रदेश संयोजक तथा दैनिक पत्र दैनिकका उपसम्पादक केसीलाई प्रमुख अतिथि गृहमन्त्री सन्तोष कुमार पाण्डेयले नगद रु. १० हजारसहित सम्मान गरेका थिए ।

228178b8-66e1-4d3a-9231-363bf634bd2f.jpg

नेपाल पत्रकार महासंघ, रुपन्देहीले बनाएको मूल्यांकन समितिको आधारमा प्रत्येक वर्ष एकजना पत्रकारलाई सहकारी पुरस्कार प्रदान गरिदै आएको छ ।