images

सोमवार, बैशाख १७ गते २०८१

मेरो अतीत र मैले बुझेको पत्रकारिता

मेरो अतीत र मैले बुझेको पत्रकारिता

images
images
images
बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • मेरो अतीत र मैले बुझेको पत्रकारिता

    मैले जीवनमा धेरे क्षेत्रमा काम गर्नु अरुका जस्तै मेरो पनि बाध्यता हुनसक्छ । केही गरौं अगाडी बढौं, अरुलाई पनि दिउँ आफैले पनि लिउँ भन्ने त्यो बेला थियो । मेरो लागि ती क्षणहरुले जीवनका  रुपरेखाहरु कोर्न सिकाए । कतिपय काम कुराहरु मनको समर्थनमा गरिए । कतिपय लेखहरु अरुलाई खुसी पार्न रचीत भए । केही कुराहरु वाध्यतावस नचाहेर जीवनमा ब्योहोरिए । अहिले मेरोे विगत स्मरण समिक्षा गर्दा, जीवनका भोगाईहरुबाट आर्जीत नतिजाहरुमध्ये केही मात्र प्राथमिकतामा पर्दारहेछन् भन्ने ज्ञान भयो । मेरो जीवनमा मैले राजनीति गरे। लेखापरीक्षक भई टोपल। जागीरे जविन विताए।कवि लेखक बनेर अगाडि बढ ।

    images

    पत्रकार बनेर सम्पादक प्रकाश सम्म भए । सामाजिक संस्था वानागरिक समाज संस्थाहरुमा रहेर सामाजिक अभियन्ताको रुपमा चिनीए । तर म यी सवै कामहरुको बारेमा नसंझदै दुुईवटा काम गर्न चाहन्थे पहिलो काननु विषय अध्ययन दोस्रो रत्न राज्य क्यम्पसमा भर्खर खुलेको पत्रकारिताको विषयमा प्रवेश । तर यी दुई मध्ये कानुन विषयमा भर्नामात्र भएर छोड्नु परेको थियो भने पत्रकारितामा आंशिक रुपमा केही अध्ययन गर्ने अवसर म आफैले जुराउन सफल भए । मैले जसरी चाहेको थिए त्यसरी पढने अवसर नआए पछि मेरो रहर  परीस्थितिले पुरा गर्न  दिएन । पत्रकारितामा विश्व विद्यालयको पाठयक्रम अनुसार नियमित रुपमा अध्ययन गर्न नपाए पनि रहरको तीर्खा मेटनको लागि त्यो क्षेत्रमा काम गर्ने साथीहरुसंग सम्पर्क बढाएर समाचारहरु सम्प्रेषण गर्दागर्दै  भैरहवा बुहुमुखी क्याम्पसमा स्नातक विषयमा नेपाली र अर्थशास्त्र लिएर पढ्ने अवसर जुर्‍यो । मैले पढ्ने सिलेवसमा एउटा विषय पत्रकारिताकाको सानो अंश पनि रहेछ ।

    तत्कालिन अवस्था सम्म त्यो पत्रकारिताको अंश सिलेवसमा मात्रसिमति रहेको  र कसैले पनि चाँसो दिएको नदेख्दा  यो मुद्धालाई उठाएर क्याम्पसमा जसरी भए पनि यो विषय पढाउन बाध्य तुल्याउन पर्छ भन्ने उत्साह पैदा भयो । त्यतिबेला  काठमाण्डौं पछि मोफसलको लागि  बुटवल  भैरहवा पत्रकारिताको राजधानीको रुपमा चिनीने गर्दथ्यो  । यहाँको पत्रकारिता शैक्षिक योग्यताको आधारमाभन्दा अनुभव, रहर र राजनीति चेतना अभिबृद्धिको लागि झूमी रहेको प्रतित हुन्थ्यो । यहाँ पत्रकारिताको विशिष्टीकरण गर्न कदम नचालेको र कसैले पनि यसको अध्ययन तर्फ क्याम्पसको ध्यानाकर्षण गर्न नसकेको देख्दा म द्रविभूतहूने गर्दर्थे । मलाई पत्रकारितामा केही गर्नु पर्छ भन्ने हुटहुटिले सताई रहेको थियो ।

    फस्वरुप मैलै तत्कालिन अवस्थाको समान्य पत्रकारिताको ब्यवहारीक  अध्ययनको आधारमा मेरा समकक्षीय अध्ययन गर्ने  साथीहरुलाई पनि  यो विषयमा सुझाउने प्रयास गरे । क्याम्पसमा नेपाली विषय अध्यापन गराउनका लागि भर्खर त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा सर्बोउत्कृष्ठ स्थान हासिल गरेर भैरहवा बहुमुखि क्यम्पसमा कपिलदेव लामीछाने आउनुभएको थियो । नेपाली विषयमा स्वर्णपदक प्राप्त हाम्रा आदरणिय गुरु  कपिलदेव लामीछानेसंग यो प्रस्ताप लिएर हामी गयौ । उहाँ यो सिलेवसमा उल्लेखित पत्रकारिताको विषय पढाउन तैयार हुनु भयो । क्याम्पस प्रशासनको प्रमुखमा  बालकृष्ण भट्टराई हुनुहुन्थ्यो उहाँलाई पनि हामी भेटेरै हाम्रा कुराहरु राख्यौ । उहाँ पनि सकारात्मक देखिनु भयो ।

    सवैतिरबाट यसलाई सकारात्मक रुपमा ग्रहण गरिएपछि भैरहवा क्याम्पसमा पत्रकारिताको सानो अंश समेटेर अध्यापन प्रारम्भ भएको थियो । त्यहाँ चार जनाले उक्त विषय पढ्ने अवसर पाएका थियौ । मैले पढ्दा पढ्दै समाचार तथा पत्रिकाहरुमा लेखहरु लेख्ने, छाप्ने अभ्यास गर्दै थिए । यो काम अध्ययन अवधिभर  स्थानीय अखवारहरुमा समाचार, लेख आदि संम्पे्रषण गर्ने काम जारि थियो ।  त्यो बेलाको पत्रकारिता अहिले जस्तो थिएन । त्यसबेलाको पत्रकारतिाका कुरा गर्दाै सवैले मिसन पत्रकारिता भन्ने गर्दथे। पत्रकारिताको विषयगत ज्ञान दिने नेपाली पुस्तकहरुको अभाव थियो । यहीका स्थानीय प्राध्यापकहरुले त्यसलाई परिपूर्ती गर्ने प्रयास गरिरहेका थिए। त्यो वखत  म स्वयं  सम्पादक कृष्णराज पाण्डे र स्व. बसन्त पोखरेलले पत्रकारिता सम्वन्धि दर्जनौ लेखहरु प्रकाशन गरेका थियौ । यसलाई पुस्तक आकारमा छाप्ने हाम्रो सहमति थियो तर ती लेखहरु पुस्तकआकारमा प्रकाशन नभए पनि सुचना विभाग प्रेस काउन्सील कतै धमीरोले खाँदै होलान् ।

    मैले भैरहवा बहुमुखि क्याम्पसबाट स्नातकतह उत्तिर्ण गरेपछि अगाडिको अध्ययनका लागि त्रि.वि (२०४५) किर्तीपुरमा  नेपाली स्नतकोत्तर तहमा अध्ययन गर्न सुरु गरे । पत्रकारितालाई जीवनको एउटा अंग बनाउने लक्ष लिएको मैले भैरहवा काठमाण्डौबाट करुणनीधि सर्माको (हाल ८४ वर्ष) सम्पादनमा प्रकाशित हुने विचार साप्ताहिकमा काम गर्ने सिलसिलामा तत्कालीन सूचना विभागबाट  आधिकारिक सम्वाददाताको रुपममा काम गर्न २०४७ साल बैसाख २३ गते तत्कालीन छापाखाना र प्रकाशन सम्वन्धि नियमावली २०४०(संशोधन सहित)  अनुसार पत्र – प्रतिनिधि प्रमाणपत्र ४१५९ प्राप्त गरे ।

    यसै वीचमा दैेनिक निर्णयको अतिथि सम्पादकमा बसेर काम गरे । यतिगर्दा गर्दै नेपालमा प्रजातन्त्र पुर्नर स्थापना भयो । पत्रकारिताले सुस्तसुस्त राजनीतिक रङ्गलेपन गरेर खुला रुपमा  पक्ष विपक्षमा देखिन थाल्यो ।यो बेला पत्रकारिता अमीलो मिसिएको गुलीयो आँप जस्तो स्वादमा बजारमा देखिन थाल्यो । पत्रकारितालाई काङ्ग्रेस समर्थक, कम्युनिष्ठ समर्थक र पंच वा राजा समर्थकका रुपमा देखाउन विभाजनका रेखाहरु  कोरिए । यो बेलामा नेपालको पत्रकारिताले एउटा उचाई लिन सक्दथ्यो  विगतमा पंचायती निरङ्कुसताले  थलीएको पत्रकारिता स्वतन्त्र रुपमा  उभिएर चौथो अंगको गरिमालाई वचाउन गाह्रो भए पनि अझ विस्वास योग्य बनाउन सक्दथ्यो । तर त्यो अवसर विभाजनका रेखाहरुले  गर्दा गुम्न पुग्यो । सरकारको कलो र गलो समाएर वाच्न पर्ने बाध्यतालाई पत्रकारिताले नयाँ दिशा प्रदान गर्न सकेन ।

    यसपछि म दैनिक निर्णय छोडने र  आउने क्रम एक दुई पटक भयो यस्तो हुनु को कारण विभिन्न माध्यमबाट आउने कलो र गलोहरु नै प्रमुख थिए।तर कलो र गलो नचाहने मेरो तत्कालिन सोचले पत्रकारिताको गरिमालाइ तल मार्न चाहेन।  यसैवीचमा मैले रुपन्देहीबाट मेरै सम्पादन र प्रकाशनको हैसियतमा  जनता साप्तहिक नामक पत्रिका दर्ता गरे र तत्कालनि श्री ५ को सरकार सञ्चार मन्त्रालय प्रेस सूूचना विभागबाट सम्पाादक प्रकाशकको हैसियतमा २०४७।०८।०९ मा छापाखाना र प्रकाशन सम्वन्धि नियमावली २०४० (संशोधन सहित) अनुसार पत्र–प्रतिनिधि प्रमाणपत्र ४२४८ नं को प्रमाणपत्र प्राप्त गरे । त्यतीबेला चौतारी, नयाँदिशा  दैनिक जनसघंर्ष आदिपत्रिका पनि जन्मीएका हुन्  ।

    त्यो बेलामा मैले अन्य साथीका पत्रिकाहरुलाई पनि उनीहरुकै आग्रह र मेरो चाहनामा समानजस्यगरी उनीहरुकै जिम्मेवारीमा हिड्दै सम्पादन लेखकको रुपमा वाणी,समालोचना, सिद्धार्थ आदि पत्रिकाहरुलाई लेखनको माध्यमबाट सहयोग गरेको थिए। त्यही समयमा बुटवलका केही युवाहरुको उत्साहलाई सफलीभूत बनाउन उनीहरुले मलाई सम्पादकमा राखेर युथ टूडे नामक साप्ताहिक अङ्ंगेजी पत्रिका दर्ता गरे। सुरुमा पत्रिका राम्रोसंग चले पनि पछि युवाहरु वीचको रोजगारीका कारण उनीहरुले पेशा परिवर्तन गरेकाले पछि यो पत्रिका निष्क्रिय हुन पुग्यो ।

    पंचायत नडल्दा सम्म दैनिक निर्णय,खसोखास,विचार साप्ताहिक, सम्वाद, समालोचना, एक्स्रे  सिद्धार्थ, लुिम्बनी, मुुक्ति सन्देश लगातका समाचारमुलक पत्रिकाहरुले यहाँको बजार रमाउने गरेको थियो। त्यतिबेला पनि प्रतिपक्षको निर्वाह गर्नपर्ने पत्रकारिताले आफ्नो धर्मलाई बचाउन वालबाल थियो।

    त्यो वखत दैनिक चौतारी, जनता साप्ताहिक निष्पक्ष,परिवर्तन, मुक्ति सन्देश नयाँदिशा, सूचना अर्धसाप्ताहिक लगायतका पत्रीकाहरु बुटवल र भैरहवा बजारमा देखिएका हुन् । त्यो बेलाका यहाँका सम्पादक प्रकाशक हरुले  पत्रिकाको नाम फेरेर चलाए कति काठमाण्डौ तीर पलायन भए ।

    त्यो बेला अहिलेको कपीपेष्ट भने जस्तो समाचारहरु लेखहरु कार्वन पेपर बनाए छाप्नको लागि धेरै पत्रिकामा पठाउने चलन थियो कहिलेकाही एउटै कुरा तीनतीर छापिएका हुन्थे  । यो प्रबृत्ति त्यो बेला पनि आलोचीत थियो ।पत्रिकाहरु वाच्ने आधार भनेको  सूचना विभागले दिने कागज सुविधा, पत्रिका विक्री र विज्ञापनहरु आयका देखिने आधारहरु थिए । पत्रकारलाई हेर्ने दृष्टिकोण अहिले भन्दा फरक थियो । तथ्यको आधारमा छापिएका समाचारहरुले अपराधीहरु तथा कानुन विपरीत गर्नेहरुको  मुटुमा ढ्याङ्ग्रो ठोक्दथ्यो । सरकारी साधनको दुरुपयोग भनेर समाचार प्रकाशित भएपछि जिल्लामा तहल्का मच्चीने प्रशासन सच्चीने सम्मका काम  हुने गर्दथे ।

    हुलाक, हकर, कामदारहरु तत्कालीन अवस्थामा पाठक समक्ष पत्रिका पुर्‍याउने माध्यम थिए। पत्रिकामा लेखिएका कुराहरु शुद्ध र तथ्य हुन्छन् भन्ने आम विश्वास थियो ।राससका बुलेटिनहरु, बीबीसी लगायतका रेडियो सुनेरविचार र धारणाहरु बनाउदै कलम चलाउने परिपाटि थियो । मैले सम्पादककै रुपमा बीबीसी नेपाली सेवामा प्रत्यक्ष रिपोर्टिङ्ग गर्दा मैले त्यो वापत  २९ स्टरलिङ पाउण्डको चेक प्राप्त गरेको थिए।

    रेडियो नेपालबाट प्रशारण हुने घटना विचारहरुबाट हाम्रा पत्रिकाका सम्पादकीयहरु प्रशारण गरिन्थे । कम्पोजिटर र सम्पादक वीचको सम्वन्धले मात्र पत्रिका समयमा निस्कीन सक्दथ्यो । त्यतिबेला पनि हेडलाइन, लिडलाइन बाइलाइन  बुझेका सम्वाददाता र  सम्पादकहरुले राम्रो, खदिलो भरपर्दौ  समाचार बनाउँथे ।  त्यतिबेलाको पत्रकारीता  ६ क आधारित थियो ।

    मैले काम गरेको पत्रकारितामा अक्षर बनाउन फलामका अक्षरहरु जोडेर मेटरहरु बनाइन्थे अथवा कम्पोज गरिन्थ्यो ।  त्यो मेटरलाई  कागजमा रोलिङ् गरेर न्यूज प्रिन्टमा  उतारिन्थ्यो । त्यसमाथि सम्पादकले  प्रुफ रिडिङ् गर्दथे ।अनिमात्रत्यसलाई राम्रोसंग बाँधेर ट्रेडिल मेसिमा राखिएपछि पत्रिकाका पेजहरु छापिएर आउँथे।

    हेर्दाहेर्दै ती मेसिनहरु अक्षरहरु र अक्षर जोडने कम्पोजीडरहरु लोप हुदै गए । कम्पीयुटरको जुगसगै साना ठूला अपसेटहरु छपाईमा सामेल भए । फोटातथा विज्ञापनका ब्लगहरु बनाउन यहाँबाट गोरखपुर जानुु नपर्ने भयो । सबै काम कम्पीयुटरले गर्ने रअपसेटमा पत्रिकाहरु छापिन थाले । पत्रकारितामा लगानी गर्ननसक्नेका लागि आफैले पत्रिका चलाउन नसकिने अवस्था आयोे ।यही अवस्थमा कतिपय पत्रकार, सम्पादक, प्रकाशकहरु पलायन भए ।

    नयाँसँगै आफै पनि नयाँ बन्नु पर्छ युग अनुसार आएका सञ्चार प्रविधिहरुलाई चलाउन सिक्नु पर्छ भन्ने बुझेकाहरुको फ्याक्स देखि इन्टरनेट सम्मको प्रविधिक यात्रामा हामफाले  । अहिलेत हातले कलम समाएर लेख्न गाह्ररो लाग्ने अवस्था आयो । सवैकुरा मोवाईल कम्पयुटरमा पाईने भएपछि यस्ता  प्रविधि पछ्छयान रहर लाग्नु स्वभाविक छ। यही रहरमा  नयाँ नयाँ एप्सहरु सूचना तथा सञ्चार प्रणाली  प्रविधिमा थपहुदै गएका छन्। ती मध्येका पुराना विस्थापित हुदै थिए र नयाँले स्थान लिदै थिए र छन् । मलाई पनि ती चलाउने रहर जाग्दै थियो । नयाँ प्रविधिलाई आत्मसात गर्न रहर ले मात्र कहाँ पुग्छ ? भर्खरको युवालाई जस्तो मलाई  यी सिक्न सहज नभए पनि  भित्रबाटै इच्छा जागेपछि गर्न नसकिने कुरा रहेनछ   पत्रिका सम्पादन देखि फोटो भिडियो सम्पादन सम्मका कुराहरुको आधारभुत ज्ञान र प्रयोग गर्न कुरा सिक्न मलाई कसैले छेक्न सकेन।

    डेटा जर्नालिजम  देखि  मोजो (मोबाइल जर्नालिजम) गूगल पडकास्ट आईसकेका छन् । अहिले  अनलाईन दैनिकि जस्तै बनेको छ । करीप २७ वर्ष अगाडि नै यसको प्रयोग नेपालमा काठमाण्डौ पोष्ट जस्ता मिडियाले गरेकाता पनि यो सवै पत्रकार तथा मिडिया हाउसको पहूूँचमा आउन केही समय लाग्यो ।  अहिले अनलाइन सामाजिक जीवनमा अपरिहार्य बन्दै गईरहेको छ । पत्रकारिता द्रुत गतिमा अगाडि बढी रहेको छ । पत्रकारिताको स्टाईल फेरिएको छ । समाचार अपलोड तुरुन्त गरिएन भने त्यो पाठकको लागि  पुरानो  हुन्छ  समाचार र पाठक वा पाठकको रुची हेरेर यसलाई छिटो अपलोड गर्ने  गरेको देखिन्छ । ताजा समाचार र विचारका लागि मानिसहरु सामाजिक सञ्जालका विभिन्न स्वरुपमा  झुम्मीनेहरुको संख्यामा बृद्धि हुदैछ । अव मिनेट मिनेटमा समाचार वासी हुन थालेकाछन् । अपडेट र ब्रेकिङ समाचार दिन सञ्चार माध्यमहरु तछाड मछाड गरिरहेका छन्।

    पत्रकारिता पनि अपडेटको हिसापले चिकित्सा विज्ञान जस्तै बनेको छ ।एकचोटीको अध्ययनले वर्षौ सम्म कुनै पनि पेशा चल्न सक्दैन।  यसलाई रिफ्रेस गरेर मात्र पुग्दैन यसको लागि अध्ययन अनुसन्धान र नयाँ नयाँ सृजनात्मक प्रयोगको खाँचो परिरहन्छ ।

    नेपालमा पत्रकारिता गररे वा लेखेर वाच्नकोलागि सवैपत्रकार तथा साहित्यकारहरुलाई पहूँचको समस्या छ । हरेक कुरामा काठमाण्डौ मुखि हुनुपर्ने समस्या हिजो पनि थियो र अहिले पनि छ। त्यहाँका कान्तिपुर, गोखापत्र, मधुपर्क, गरीमा यस्तै अनेकन मिडियाहरुले पहिचान दिएमा मात्र पेशाकर्मी लेखक साहित्यकारहरुलाई  काठमाण्डौले चिन्ने गर्छ । यसका लागि दुइवटा बाटाहरु कोरिएका छन्  एउटा जसको कलम चलायमान नगराईकन काठमाण्डौं बाच्न सक्दैन त्यो आकर्षणयुक्त कलम बोकोकाहरु काठमाण्डौंले  बाध्य भएर स्वागत गर्छ । दोस्रो त्यस्ता कलमहरु जोसंगभनसुन गराउन गुट वा पावर छ त्यस्तालाई पनि काठमाण्डौले यदाकदा पहुँच देखाई दिन्छ । त्यसभन्दा बाहेक अरुहरु रमाउने चलखेल गर्ने भनेको मोफसलका मिडिया हाउसहरुसंग मात्र हो त्यसमा पनि विचार, सिद्धान्त दलीय स्वार्थले काम गरिरहेको हुन्छ ।

    प्रजातन्त्र पुर्नरस्थापना भन्दा अगाडि र केही पछाडि पनि समस्या नभएको भने होईन। तर अहिले पत्रकारिता पत्रकारिता जस्तो आवरणमा देखिन नसक्नु लेखकहरुले मनमा आएका कुरा खुल्ला रुपमा ल्याउन नसक्नुको कारण पत्रकारिता लागानीकर्ताको निर्देशन र इथिकको रुपमा अगाडि बढ्नुपर्ने भएकोले यो मिसन पत्रकारिता हो वा  जीविकोपार्जनको लागि गरिएको ब्यवसाय हो भन्ने तर्फ स्पष्ट हुनुजरुरी देखिन्छ । यसैकारणले पनि होला विश्वविद्यालयमा पत्रकारिता पढेर आएकालाई दुई लाइनको समाचारसमेत लेख्न आउँदैन भन्ने गुनासो धेरै ठाउँमा सुनिन्छ। पत्रकारितामा रम्न चाहने जोकोहीको पनि मिसन पत्रकारिता हुनुपर्दछ । पत्रकारिताले सामाजिक चेतना विकासमा धेरै योगदान दिएको हुन्छ । चारवटा संगीनको भन्दा एउटा समाचारको बल सयौ गुना  शक्तिसाली हन्छ भन्ने एडिसनको भनाईलाइ सार्थक बनाउने जिम्मेवारी हाम्रो मिसन पत्रकारिता हो भन्नेमा पत्रकारहरु ब्यवहारीक रुपमै एकमत हुनु अहिले पनि उत्तिकै आवश्यक छ ।

    (म आधिकारिक रुपमा खवरपात्रोमा प्रवेश गरिसकेपछि पत्रकारिता र म भन्ने विषय आदरणीय पाठक शुुभ चिन्तक सवैलाई बुझ्न सरल होस् भन्ने मनसायले यो आलेख प्रस्तुत गरेको हूँ । आगामी दिनमा खबरपात्रोेबाट प्रकाशित हुने मेरा रचनाहरुमा सवैबाट यथोचीत  सुझाव र समालोचना हुने आशा राखेको छु । त्यसैको आधारमा अरु लेखहरु पनि प्रस्तुत गर्ने मेरो जमर्को रहिरहने छ )

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij