२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

संसदलाई सक्रिय बनाउन सकिन्छ : देव गुरुङ

शुक्रवार , माघ ३०, २०७७

बुटवल, ३० माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्वारा शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दावी गरे । गुरुङले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण दिए ।  उनले संविधानविपरीत प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा सक्रिय र पुनस्र्थापना हुन सक्ने दावी गरे । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउँदै सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडिया एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए ।

प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनविद्रोह पनि हुन सक्ने दुवै सम्भावना रहेको उनले दावी गरे । पूर्वमन्त्री समेत रहेका नेता गुरुङले देशमा स्थिरता र स्थायीत्व कामय गर्न संसदलाई सक्रिय बनाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दैमा विघटन हुन नसक्ने दावी गरे ।  उनले प्रतिनिधिसभा विघटन गरेर लामो संघर्षबाट स्थापित लोकतान्त्रिक, गणतान्त्रिक प्रणालीलाई उल्टाएर प्रधानमन्त्री ओली आफु सर्वशक्तिमान हुन खोजेको आरोप लगाए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम पश्चगामी भएको दावी गर्दै गुरुङले प्रधानमन्त्री ओलीले फासीवादी र तानाशाही चिन्तन देखाएको आरोप लगाए । प्रतिनिधिसभा विघटनसंगै नेपाललाई क्रिडास्थल बनाउ विदेशी शक्ति केन्द्रहरु आर्कषित भएको बताए । उनले वैशाखमा चुनाव हुन नसक्ने दावी गर्दै प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधानविपरीत भएकाले असंवैधानिक रुपमा नेपालमा चुनाव नहुने ठोकुवा गरे ।

लोकतान्त्रिक व्यवस्थामा बोल्न पाउने अधिकार सबैलाई भएको उल्लेख गर्दै बोलेकै भरमा पार्टीका नेता, कार्यकर्तालाई गिरफ्तार गर्ने, पक्राउ गर्ने, झुट्टामुद्वा लगाएर तर्साउन खोज्नु सरकारको फासीवादी र तानाशाही चिन्तन रहेको उनले बताए । नेतृ रामकुमारी झाक्रीको गिरफ्तारको विषयलाई इंगित गर्दै  नेता गुरुङले भने, ‘सरकारको दमनकाविरुद्व प्रतिरोध र प्रतिवाद गरिन्छ  । राणा, पञ्चायतले पनि दमन र झुट्टामुद्वा  लगाएकै हो, ओलीले पनि त्यसैको निरन्तरता दिन खोजेका हुन् त्यो सम्भव छैन ।’
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।