शनिवार , कार्तिक १, २०८३
भैरहवा, ३१ असोज । सामाजिक अभियन्ता भोपेन्द्र प्रसाद यादवले विदेशमा रोजगारीका लागि जान चाहने युवाले प्रहरी प्रतिवेदन (पुलिस रिपोर्ट) प्राप्त गर्न कठिनाइ भइरहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
यादवले तत्कालीन स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको सम्झौता कार्यान्वयनको विषय उठाउँदै आवश्यक प्रक्रिया पूरा गर्दा पनि प्रहरी प्रतिवेदनमा क्लिन चिट प्राप्त गर्न समस्या भइरहेको गुनासो गर्नुभएको हो ।
प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ–‘सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, हामी सबैलाई गिरफ्तार गर्नुस् । वा प्रहरी–प्रशासनबाट क्लिन चिट दिनुस् । हाम्रा युवाहरूलाई विदेशमा मजदूरी गर्न जानका लागि पनि पुलिस रिपोर्ट लिन भौतारिनुपरेको छ । सबै प्रक्रिया मिलाउँदा पनि क्लिन चिटमा के को अवरोध हो ? त्यो पनि हामीलाई सम्झाइदिनुस् ।’
यादवले राजनीतिक पदमा रहेका व्यक्ति र सर्वसाधारण युवाले प्रहरी प्रतिवेदन प्राप्त गर्ने प्रक्रियामा फरक व्यवहार हुने गरेको हो कि भन्ने प्रश्नसमेत उठाउनुभएको छ । उहाँले सांसद तथा मन्त्री भएकालाई प्रहरी रिपोर्ट आवश्यक नपर्ने तर, सर्वसाधारण युवालाई आवश्यक पर्ने हो भने त्यसको आधार स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ ।
२०७५ को सम्झौता कार्यान्वयनको प्रश्न
नेपाल सरकार र तत्कालीन स्वतन्त्र मधेश गठबन्धनबीच २०७५ साल फागुन २४ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा ११ बुँदे सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको उक्त सम्झौतामा सरकारकातर्फबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गठबन्धनका संयोजक चन्द्रकान्त (सीके) राउतले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौताको पाँचौं बुँदामा ‘स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुमाथि लगाइएको राज्यविरुद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दाहरु फिर्ता लिइनेछ र हिरासत तथा कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलार्ई निशर्त रिहा गरिनेछ’ भन्ने उल्लेख गरिएको छ ।
समस्या समाधान गर्न सरकारसँग आग्रह
यादवले विदेशमा रोजगारीका लागि जान चाहने युवाले प्रहरी प्रतिवेदन प्राप्त गर्न अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था भए त्यसको समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ । अब मधेशका युवाहरु सचेत भइसकेको उल्लेख गर्दै उहाँले जायज विषयमा प्रश्न गरिरहने बताउनुभयो । उहाँले यस आन्दोलनको नेतृत्वमाथि समेत प्रश्नचिन्ह खडा भएको भन्दै सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij