
बुधवार , फाल्गुण २, २०८०
अर्घाखाँची, २ फागुन ।
श्री आदर्श आधारभूत विद्यालय छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका ठूलाखर्कले ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले गरेका थिए । सोही अवसर पारेर विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक डोलबहादुर घर्तीले जानकारी दिए ।
यसरी छात्रवृत्ति पाउनेहरुमा अनुसा ज्ञवाली, मिलन थापा, करिश्मा थापा र सम्झना घर्ती रहेका छन् । त्यस्तै छात्रा सिर्जना कुमालले समर मार्ट अमरपथ बुटवलबाट गिफ्ट प्राप्त गरेकी छन् ।
वार्षिकोत्सवको उदघाटन गर्दै प्रदेश सभा सदस्य आचार्यले सामूदायिक विद्यालयको गुणस्तर क्रमशः सुधार हुँदै गइरहेको भन्दै प्रविधिमैत्री शिक्षामा अब जोड दिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली, छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँची प्रमुख मनिराम पराजुली, लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा प्रमुख दिपक ज्ञवाली, छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष काजीवाबु ज्ञवाली, विभिन्न अक्षयकोष संस्थापक तथा संरक्षकहरु मुकुन्द ज्ञवाली, केशव ज्ञवाली, शारदा ज्ञवाल, ठुलाखर्क रुपन्देही सेवा समाजका अध्यक्ष टामलाल ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ज्ञवाली, शिक्षक राजु पाण्डे, फर्सुराम पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पूर्व विद्यार्थी मञ्च गठन
६२ औं वार्षिकोत्सवको अवसर पारेर आदर्श आधारभूत विद्यालय छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका ठूलाखर्कमा पूर्व विद्यार्थी मञ्च तदर्थ समिति समेत गठन गरिएको छ । विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको भेलाले टामलाल ज्ञवाली संयोजक रहेको पूर्व विद्यार्थी मन्च गठन गरेको हो । जसको सदस्यहरुमा किशोर ज्ञवाली, गोकुल ज्ञवाली, दिपक ज्ञवाली, दशरथ ज्ञवाली, नारायण ज्ञवाली, लक्ष्मण पौडेल, भागवत ज्ञवाली लगायत रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij