
बिहिवार , फाल्गुण ३, २०८०
काठमाडौं, ३ फागुन ।
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो ।
त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । उक्त मुद्दा १ महिनादेखिको निरन्तर सुनुवाईपछि मंगलबार बहस सकिएको थियो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दामा ठहर भएका प्रतिवादीवाट अदालतले विगो र जरिवाना असुल हुने फैसला सुनाएको बताए । विशेषले जग्गा जफतका लागि प्रतिवादी बनाएकाहरुको हकमा जफत हुने निर्णय पनि गरेको छ ।
अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको विषयमा २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ जना पूर्वमन्त्री र ३ पूर्व सचिवसहित १७५ जनालाई प्रतिवादी बनाएको थियो । अख्तियारले नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री समेत रहेका विजय गच्छदारसहितका व्यक्तिलाई उक्त प्रकरणमा संलग्न भएको भनी मुख्य प्रतिवादी बनाएको थियो ।
अख्तियारले दायर गरेको मुद्दा दर्ताको प्रक्रिया सकिएपछि विशेष अदालतले २०७६ साल माघमै प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो ।
अदालतको म्यादअनुसार प्रतिवादी (अभियुक्त) हरु उपस्थित भएपछि विशेषले सुनुवाइ गर्दै सबैलाई धरौटीमा रिहा गरेको थियो । केही अभियुक्तहरु साधारण तारेखमा पनि रिहा भएका थिए ।
ललिता निवास प्रकरणमा अख्तियारले ११० जनालाई अभियोगमा संलग्न भएको दावी गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो । ललिता निवासको मुद्दामा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु, अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी तथा जग्गा खरिदविक्री गर्नेहरु अभियुक्त बनाइएका थिए ।
पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij