
शुक्रवार , फाल्गुण ४, २०८०
भैरहवा, ४ फागुन । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनीको विकास भनेको यो देशको विकास भएको बताएका छन् । उनले लुम्बिनीको विकासले मुलुकको विकासमा टेवा पुग्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवं सहकार्य तथा लुम्बिनी प्रदेशका स्थानीय तहहरुको सहयोगमा शुक्रबारदेखि भैरहवामा सुरु भएको राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० को उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।
उनले भगवान गौतमबुद्धको नामबाट अन्तर्राष्ट्रिय विमानस्थल बनेको र यो विमानस्थल सञ्चालनका लागि दबाब दिन उद्योगी व्यवसायीको नेतृत्वमा विभिन्न कार्यक्रम भएको बताए । उनले सरकारमा रहेर वा सरकाबाट बाहिरिएर भए पनि विमानस्थल चलाएर छाड्ने बताए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले राष्ट्रको नेतृत्व गर्ने व्यक्तिहरुले काठमाडौं भनेको नेपाल र नेपाल भनेको काठमाडौं बुझिदिएका कारण राष्ट्र विकसित हुन नसकेको बताए । उनले पर्यटनका माध्यमले मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताए ।
उनले भने, ‘जुन देशको नेता र कर्मचारी आर्थिक रुपमा सम्पन्न बन्न खोज्छन्, त्यो देश आर्थिक रुपमा सम्पन्न हुन सक्दैन । ’
जनताको मतबाट जितेर आफूहरु लुम्बिनी प्रदेश सरकारमा रहेकाले राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० मा सरकारले सहयोग गरेको नबुझिदिन आग्रह गरे । ‘भगवान गौतमबुद्धको पवित्रभूमि लुम्बिनी प्रदेशको भैरहवामा सम्मेलन आयोजना गर्नुभएको छ । सरकारले यहाँहरुलाई सहयोग गरेको नबुझिदिनुहोला । प्रदेश सरकारले आफ्नो दायित्व निर्वाह गरेको हो, ’उनले भने ।
महिला बिना सृष्टिको नै परिकल्पना गर्न नसकिने भएकाले महिलाले आफूलाई कमजोर नसोच्न उनको आग्रह छ । स्थानीय तहको प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने व्यवस्था संविधानमै रहेको र नेपालमा दुईपटक महिला राष्ट्रपति भइसकेको बताए ।
त्यस्तै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सी.के.) गुप्ताले महिला उद्यमीका लागि हुने कार्यक्रममा मन्त्रालय र प्रदेश सरकारकोतर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले महिलाले पाउनुपर्ने पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए । ‘संघले प्रदेश सरकारलाई अधिकार दिन नखोजे पनि यहाँहरुको साथमा रहेर राम्रो काम गर्न सक्छौं भन्ने विश्वास छ, ’मन्त्री गुप्ताले भने ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठ, महासंघको महिला उद्यमी विकास समिति सभापति कमला श्रेष्ठ, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलगायतले बोलेका थिए ।
‘महिलाको लगानी, घर–घरमा उद्यमी’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन फागुन ५ गते शनिबारसम्म सञ्चालन हुनेछ ।
महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रबद्र्धनका साथै महिला सशक्तिकरणमा सहयोग पुर्याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठले बता/न् । यो सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौति, युवा महिला÷स्टार्टअपका लागि गरिएका पहल र भएका व्यवस्था लगायत पाँच विषयमा विज्ञहरुसँग छुट्टाछुट्टै छलफल हुने उनले जानकारी दिइन् ।
‘नेपालको जनसंख्याको करिब आधा शक्ति रहेका महिलाहरुको अर्थतन्त्रमा योगदान अनौपचारिक माध्यमबाट बढी रहदारहदै पनि ग्रामीण वा औपचारिक अर्थतन्त्रमा विद्यमान रहेको न्यून प्रतिशतको हिस्सालाई महिला उद्यमीको रुपमा प्रोत्साहन गरी व्यापक रुपमा महिलाहरुले अर्थतन्त्रमा पनि योगदान पुर्याउन यो राष्ट्रिय महिला उद्यमी सम्मेलनले महत्वपूर्ण योगदान हुने भन्ने विश्वास लिएका छौं, ’श्रेष्ठले भनिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij