२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विविध कार्यक्रम गरी लुम्बिनी प्रादेशिक अस्पतालको ११४ औं वार्षिकोत्सव मनाइँदै

शुक्रवार , फाल्गुण ४, २०८०

बुटवल, ४ फागुन ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत शुक्रबारदेखि अतिरिक्त क्रियाकलाप सुरु भएको छ । 

पहिलो दिन आयोजित कविता वाचन प्रतियोगितामा सरिता बस्याल प्रथम हुन सफल भएकी छन् । त्यसै गरी विजय आचार्य द्वितीय, सुभद्रा अर्याल तृतीय तथा ज्योती पौडेलले सान्त्वना स्थान हासिल गरिन् । 

अस्पतालमा कार्यरत चिकित्सक, स्टाफ नर्स, विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको सहभागीतामा कवितावाचन प्रतियोगिता सम्पन्न भएको हो । अस्पताल, स्वास्थ्य सेवा तथा सचेतनासम्बन्धी कवितावाचन प्रतियोगितामा १२ जनाले प्रतिष्पर्धा गरेका थिए । 

प्रतियोगिताका संयोजक तथा अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले कविताको माध्यमबाट प्रतिभाहरुको पहिचान गर्ने अवसर समेत प्राप्त भएको उल्लेख गरे । 

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै अस्पतालका मेडिकल सुपेरीटेण्डेण्ट डा. सुदर्शन थापाले अतिरिक्त क्रियाकलापको माध्यमबाट सेवा प्रदानमा थप उर्जा प्रदान गर्ने दावी गरे । सधै सेवाग्राहीसँग व्यस्त हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अस्पतालमा सञ्चालन गरिएको अतिरिक्त कार्यक्रमले उनीहरुलाई सेवाप्रति थप जिम्मेवार, प्रतिबद्ध र उर्जाशिल बनाउन टेवा पुग्ने अपेक्षा गरिएको उल्लेख गरे । 

वार्षिकोत्सवको कार्यक्रम अन्तरगत शनिबार फुटबल प्रतियोगिता आयोजना गरिएको छ । 

अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको खेलकुद संयोजक डा. रमेश अर्यालले जानकारी दिए । विभिन्न विभागका गरी ५ समूहले प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए । 

बुटवल उपमहानगरपालिका–१२ रामनगरस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा फुटबलसँगै भबिलसमेत आयोजना गरिएको संयोजक अर्यालले जानकारी दिए । त्यसै गरी खेल गतिविधि अन्र्तगत फागुन १२ गते शनिबार क्रिकेट तथा म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । अस्पतालले यही फागुन १५ गते ११४ औं वार्षिक साधारणसभाको मूल समारोह गर्ने भएको छ ।