२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भन्सार कार्यालय रुपन्देहीद्वारा रुद्रपुर सप्लायर्समा छापा

शुक्रवार , फाल्गुण ४, २०८०

भैरहवा, ४ फागुन । 
भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले कञ्चन गाउँपालिका–४ रुद्रपुरमा रहेको एक पसलमा छापा हानेको छ । रुद्रपुरस्थित रुद्रपुर ट्रेड सप्लायर्सले भन्सार छलीका सामान विक्रीवितरण गर्ने गरेको सूचना पाएपछि छापा मार्दा डेढ लाख बढीको भन्सार छलीको सामान बरामद गरेको भन्सार कार्यालयले जनाएको छ । 

खुल्ला सीमा नाकाको फाइदा उठाउँदै भन्सार छलेर लगिएको खाद्य सामग्री भन्सार अधिकृत विकास उपाध्यायको टोलीले सामान बरामद गरेको हो ।

भन्सार टोलीले रुद्रपुर ट्रेड सप्लायर्सबाट २७ बोरा चिनी, २०० बोत्तल भारतीय कोक फेन्टा, ४ बोरा मैदा र १ सय प्याकेट चकलेट बरामद गरिएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । 

भन्सार छलीको सामानलाई निरुत्साहित गर्ने योजनासहित कार्यालयले थालेको अभियान अन्तरगत यी सामग्री बरामद गरिएको गौतमले जानकारी दिए । उनले बरामद गरिएको खाद्य सामग्री भन्सार चलान गरिएको र सप्लायर्सका सञ्चालकलाई कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको बताए । 

प्रमुख भन्सार अधिकृत गौतमले चोरी तस्करीका सामग्रीलाई नियन्त्रण तथा निरुत्साहित गर्ने विषयमा भन्सार कठोरताका साथ लागेको बताउँदै भारतबाट सामान ल्याउँदा भन्सार गरेर मात्र ल्याउन आग्रह गरे ।