
आइतवार , फाल्गुण ६, २०८०
रुपन्देही, ६ फागुन ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको लागी राजनीतिक नेतृत्वको इच्छाशक्ति आवश्यक रहेको बताएका छन् ।
शनिबार रुपन्देहीको बुटवलमा नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी प्रदेश प्रथम अधिवेशनको उद्घाटन गर्दै सभामुख घर्ती मगरले राजनीतिक इच्छा बिना कुनै पनि काम अघि बढ्न नसक्ने बताए । शैक्षिक सुधारको लागि नेताहरुमा इच्छाशक्ति चाहिएको र त्यसको लागि निरन्तर खबरदारी दिन आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘गुणस्तरीय शिक्षाको ला िनेतृत्वको सोच कहिल्यै देखिएन । माथिबाटै कुरा बिग्रिएको छ । राष्ट्रको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा नीतिको लागि तपाईहरुले संघ–प्रदेशमा दबाब दिनैपर्छ ।’ उनले प्रदेशले नेपालको परिवेश अनुसार प्रदेश शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाउदै संघीय सरकारले शिक्षा ऐन छिटो ल्याएमा प्रदेशलाई बाटो खुल्ने बताए ।
सभामुख घर्ती मगरले संघको लुम्बिनी प्रदेशको नेतृत्वलाई अग्रिम बधाई दिदै शिक्षा क्षेत्रको विकासको लागि राज्यलाई नै घचघचाउने र खबरदारी गरिरहने नेतृत्वको नेपालको शिक्षा क्षेत्रले खोजीरहेको बताए ।
संघका प्रदेश इन्चार्ज पुर्णचन्द्र पाण्डेको अध्यक्षता, हरि प्रसाद रेग्मीको सञ्चालनमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष कोष बहादुर जी. सी.ले संस्कारयुक्त शिक्षाको आवश्यकता रहेकाले शिक्षामा व्यवहारिक सीपयुक्त नेपालको परिवेश शिक्षा नीति चाहिएको बताए । उनले शिक्षा ऐन निर्माणमा नेपाल राष्ट्रिय अभिभावक संघले सरकारलाई सुझाव दिएको र ८० लाख अभिभावकको भावनालाई कसैले कुल्चिएर जान नसक्ने बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुन्दर बाबु श्रेष्ठ उपमहासचिव हरि भक्त महर्जन, केन्द्रिय सचिवालय सदस्य हरि प्रसाद कैरी, केन्द्रिय सदस्य पुर्णचन्द्र तिवारी, गोबिन्द गौतम, संघका गण्डकी प्रदेश अध्यक्ष कलाधर भट्ट, निवृत राष्ट्रसेवक समाज रुपन्देहीका कोषाध्यक्ष लक्ष्मण ज्ञवाली, लुम्बिनी प्रदेशका इञ्चार्ज रामबहादुर रायमाझी लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा अभिभावक संघका पदाधिकारीहरुले गलत शिक्षा नीतिका कारण विद्यार्थी विदेश पलायन भएको बताए । उनीहरुले शिक्षा क्षेत्रमा देखिएको अन्यौलताको अन्त्य गर्न संघीय् सरकार र प्रदेशले शिक्षा सम्बन्धि ऐन छिटो ल्याउनुपर्र्न माग गरे ।
विद्यार्थी विदेश जानुको कारण खोज्नुपर्ने बेला आएको अभिभावकहरुको भनाइ छ । उनीहरुले शिक्षामा पूर्वीय मुल्य मान्यतामाथि नै हस्तक्षेप भएको बताउँदै नेपालको परिवेश अनुसार शिक्षा नीति बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय अभिभावक संघ लुम्बिनीमा खनाल
नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले कपिलवस्तुका थानेश्वर खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा देवराज मल्ल (दाङ), उपाध्यक्षमा दिल कुमारी मल्ल (रुकुम पूर्व), सचिवमा हरि प्रसाद रेग्मी (रुपन्देही), सह–सचिवमा शिवकला वि.क.(अर्घाखाँची), कोषाध्यक्षमा कमल भट्टराई (पाल्पा) र सह–कोषाध्यक्षमा बाल कुमारी रास्कोटी (गुल्मी) रहेका छन् ।
त्यसै गरी सदस्यहरुमा देवीराम थारु (बाँके), भोज प्रसाद आचार्य (कपिलवस्तु), कमलप्रसाद घिमिरे (अर्घाखाँची), विनवहादुर गौतम (गुल्मी), तुलाराम खड्का (रोल्पा) र खड्ग बहादुर कौसल (रुपन्देही) चयन हुनुभएको निर्वाचन अधिकृत मेघराज खनालले जानकारी दिए ।
त्यसै गरी तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । नवनिर्वाचित सचिव हरि प्रसाद रेग्मीका अनुसार सल्लाहकार समितिमा तेजबहादुर गौतम, भोज प्रसाद पाण्डे र जस्मीन पौडेल रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई संघका केन्द्रिय अध्यक्ष कोष बहादुर जी.सीले सपथग्रहण गराएका थिए । त्यस्तै निर्वाचन समितिका अधिकृत मेघराज खनालले प्रमाणपत्र र बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा लगायतले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमित सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij