
शुक्रवार , माघ ३०, २०७७
भैरहवा, ३० माघ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा केन्द्रिय कार्यालय रहेको बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई लघु कर्जा लगानी तथा असुली व्यवस्थापन सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ ।
तालिममा प्रशिक्षणमूलक मन्तव्य राख्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्काले वित्तीय संस्थाको सफलताका लागि सबैभन्दा महत्वपुर्ण खम्बा मानव शक्ति भएकाले कर्मचारी स्वयम् संस्थाको बृहत्तर हितमा इमान्दारिताका साथ खट्नुपर्ने बताए । संस्था सबल र सदृढ भए मात्रै कर्मचारीको सेवा सुविधा पनि वृद्धि हुने र सामाजिक सुरक्षा पनि हुने प्रमुख कार्यकारी अधिकृत खड्काले स्मरण गराए । उनले कर्मचारीमा पेशागत ज्ञान÷सिप, लगनशिलता र लक्ष्य हुनुपर्नेमा जोड दिए ।
तालिममा लघुवित्त क्षेत्रका अनुभवी ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवलका अधिकृत मधुसुदन पोख्रलेले सहजीकरण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी जस्तो ऐतिहासिक, धार्मिक र सांस्कृतिक नगरपालिकामा केन्द्रीय कार्यालय रहेको एक मात्र लघु वित्त भएकाले कर्जा लगानीका प्रशस्त अवसर रहेको भन्दै असल ऋणी पहिचान गरी कृषि, पर्यटक, उद्योग लगायतका क्षेत्रमा लगानी गर्न सकिने सुझाएका थिए ।
संस्थाका अधिकृत दिनेश पासीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक अधिकृत विश्वजित चौधरीले स्वागत गरेका थिए । तालिममा संस्थाका करिब एक दर्जन कर्मचारीको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्काले कोरोना महामारी र अन्य कारणले अपेक्षाकृत प्रगति गर्न नसकेको संस्थाको वित्तीय अवस्थालाई निकट भविष्यमै उल्लेख्य सुधार गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij