
शुक्रवार , माघ ३०, २०७७
बुटवल, ३० माघ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । हालै महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका ढकाललाई संघले शुक्रबार एक कार्यक्रमकाबीच संघको सचिवालयमा स्वागत गरेको हो ।
त्यस अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले नीजि क्षेत्रका उद्योगी व्यवसायीको समस्या समाधानको लागि आफूले सक्दो पहल गर्ने बताउँदै उद्योगी व्यवसायीका समस्याहरु उजागर गरिदिन जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई आग्रह गरे । उनले बुटवल उद्योग वाणिज्य संघले पहल गरेको बुटवलको सडकको सर्भिसलेनको चौढाई बढाउनको लागि महासंघ र व्यक्तिगत रुपमा आफूले समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष बनाउनको लागि माहोल बनाइदिएकोमा धन्यवाद व्यक्त गर्दै चुनावपछि पक्ष विपक्ष सकिएको समेत उनले उल्लेख गरे । त्यस्तै बुटवल उद्योग वाणिज्य संघको आगामी अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिए ।
स्वागत कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्योगी व्यवसायीका समस्या समाधानको लागि संघले स्थानीय, प्रदेश तथा संघीय सरकारमा समेत पहलकदमी उठाउँदै आएको बताउँदै त्यस्ता कुरामा साथ र सहयोग गर्नको लागि महासंघलाई आग्रह गरे । सडक विस्तारको काम सुरु हुँदै गरेको बुटवलको चौराहा–चिडियाखोला व्यापारिक मार्गमा निर्माण हुने सर्भिसलेन १९ फूटबाट बढाएर २७ फूट कायम गराउनको लागि संघले पहल गरिरहेको जानकारी गराउँदै अध्यक्ष हमालले यो अभियानमा सहयोग गर्न महासंघलाई आग्रह गरेका थिए ।
बुटवल–बसन्तपुरमा सञ्चालन गर्न लागिएको केवलकारको शिलान्यासको लागि बुटवल आएका वरिष्ठ उपाध्यक्ष ढकाललाई स्वागतको लागि आयोजना गरिएको कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले केवलकार सञ्चालनसंगै यस क्षेत्रको पर्यटन बिकासमा उल्लेखनीय योगदान हुने र त्यसका माध्यमबाट पर्यटन उद्योग समेत फस्टाउने विश्वास व्यक्त गरे ।
संघका महासचिव दिनेशप्रसाद श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा महासंघका सदस्य अम्बिकाप्रसाद पौडेल, संघका निवर्तमान अध्यक्ष महेशमान सिंह, पूर्वअध्यक्षहरु जीवन प्रसाद वझा, निर्मल प्रसाद लाकौल, अर्जुनमान सैंजु, नवराज श्रेष्ठ, उपाध्यक्ष हरिप्रसाद अर्याल, कोषाध्यक्ष विमलराज भट्टराई, सचिव कमल पौडेल, कार्यसमितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij