
सोमवार , फाल्गुण ७, २०८०
काठमाण्डाैं, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका हुन् ।
सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको कांग्रेस महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले संविधानको रक्षाका लागि कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा गठबन्धन बनेको भन्दै भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका हुन् ।
पार्टीले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी सोहि समयमा उचित निर्णय लिन सक्ने उनले बताए । देउवाले वर्तमान संविधानको रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता पार्टीको राजनीतिक जिम्मेवारी पनि हुन गएको धारणा राखे । मिश्रित निर्वाचन प्रणालीका गुण दोष दुवै रहेपनि यस प्रणालीले देशको सबै जातजाती र समुदायको उचित प्रतिनिधित्वलाई प्रात्याभूति गरेको उनले बताए ।
उनले आगामी दिनमा तीनै तहमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी संगठनलाई सुदृढ बनाउने काममा लाग्न आह्वान गरे । पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णय अनुसार महासमिति बैठक बोलाइएको उनले बताए । कांग्रेसका सैद्धान्तिक मान्यता, नीति कार्यक्रम र व्यवहार सबै लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने उनले बताए । सभापति देउवाले देशको सर्वाभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रकृयाका बाँकी काम संक्रमणकालीन न्याय जस्ता विषयमा समान धारणा हुनु आवश्यक रहेको जिकिर गरे । यस निम्ती पार्टी भित्र वा सबै पार्टी विचमा सम्वाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ ।
महासमितिको बैठकले कांग्रेसलाई थप सवल सुदृढ र एकताबद्ध बनाएर लैजान सफल हुने उहाले विश्वास व्यक्त गरे । बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी छन् । बैठक फागुन १० गते सम्पन्न हुने कांग्रेसले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij