
शुक्रवार , फाल्गुण ११, २०८०
भैरहवा, ११ फागुन ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सहकारीका समस्या समाधान गर्ने बताएका छन् । उनले आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए ।
जिल्ला सहकारी संघ लि. बाँके, जिल्ला बचत तथा ऋण सहकारी संस्था लि., बहुउद्देश्यीय जिल्ला सहकारी संघ लि., कृषि जिल्ला सहकारी संघ लि. तथा विषयगत सम्पूर्ण संघहरुको संयुक्त आयोजनामा बाँकेको नेपालगंजमा भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।
उनले केही व्यक्तिले नकारात्मक ढंगले सोचेका कारण सहकारीहरुमा समस्या देखिएको बताए । उनले भने, ‘सहकारी संस्थाले सर्वसाधारणको बचत फर्काउनुका साथै ऋण लगानी गरेको रकम पनि सुरक्षित गर्नुपर्ने अवस्था छ । सबै सहकारीमा समस्या छैन । सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ ।’ नकारात्मक सोचबाट माथि उठ्ने प्रयास गर्न उनले आग्रह गरे ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले पृथ्वी र प्राणी रहेसम्म नयाँ समस्या आउने र समाधान हुँदै परिणाम निस्कने बताए । उनले समस्या नआए परिवर्तन कसरी आउँछ भन्दै प्रश्न गरे ।
कोरोना महामारी कुनै एउटा राष्ट्रमा मात्र नभइ विश्वव्यापी रुपमा आएको उनको भनाइ छ । उनले यही पिढीले परिवर्तन ल्याउनेमा विश्वस्त रहन आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij