images

बिहिवार, बैशाख २० गते २०८१

लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आर्कषण : पूर्व अर्थमन्त्री पौडेल

लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आर्कषण : पूर्व अर्थमन्त्री पौडेल

images
images
images
सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आर्कषण : पूर्व अर्थमन्त्री पौडेल

    रुपन्देही, २८ फागुन ।

    images
    images
    images

    लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब १ खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । देवदहमा निर्माण भएको विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको सोमबार उद्घाटन कार्यक्रममा बोल्दै पदाधिकारीहरुले देवदहमा महत्वपूर्ण परियोजना निर्माणको प्रक्रिया सुरु भएको बताएका हुन् ।

    भवनको उद्घाटन गर्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताए । बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेकै स्थानमा गर्न पाउनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने उनले बताए ।

    नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका नेता पौडेलले बौद्ध विश्वविद्यालयलाई सरकारी दायित्वबाट सञ्चालन गर्ने योजनासहित ऐन संशोधन गर्नमा आफ्नो प्रयत्न रहेको स्मरण गर्दै उनले विश्वविद्यालयलाई मुलुककै नमुना उच्च शिक्षाको केन्द्र बनाएर लैजानुपर्ने बताए ।

    विश्वविद्यालयको प्राज्ञिक विकासका लागि देवदहमा १ खर्बको परियोजना सुरु भएको भन्दै उनले त्यो परियोजना सम्पन्न गर्ने दायित्व सबैको रहेको उल्लेख गरे । ‘यो विशाल संरचना हो, १ खर्ब लागतमा सम्पन्न हुनेछ, उनले भने, ‘पूर्वाधार निर्माणको चरणलाई सबै पक्षले सहयोग गर्नुपर्छ, धुलो धुवा सहेरै विकास हुने हो ।’

    विश्वविद्यालयको देवदहमा जग्गा व्यवस्थापनमा रजिष्ट्रारसहितका पदाधिकारीहरुले गरेको मिहनेतको उनले प्रशंसा गरे ।

    086A4620.jpg

    पूर्व मन्त्री एवं सांसद् छविलाल विश्वकर्माले देवदहकै विशाल पूर्वाधारको निर्माण विश्वविद्यालयले गर्न लागेको भन्दै सम्पूर्ण पक्षबाट यसमा सहयोगको अपेक्षा रहेको बताए । देवदहबासीका लागि देवदह शैक्षिक ग्रामका रुपमा स्थापित हुने भन्दै यसको निर्माण सम्पन्न हुँदा अन्र्तराष्ट्रिय आकर्षणको केन्द्र बन्ने उनले बताए ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्ने गरी सुविधासम्पन्न संरचनाहरु निर्माण हुने बताए । ‘हामीले ५० करोडको लागतमा गुरुयोजना बनाएका छौं, अव यसै अनुरुपका पूर्वाधारहरु निर्माण हुनेछन्, ’उनले भने ।

    विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र ४ हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने उपकुलपति बज्राचार्यले बताए । विश्वविद्यालयको पूर्ण संरचना तयार हुँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने उत्पादनमुखी शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने उनले बताए ।

    विश्वविद्यालयका रजिष्टार डा. तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्ने गरी विश्वविद्यालयले योजना बनाएको बताए । आफूले ८ वर्षको अवधिमा पूर्वाधार र शैक्षिक विकासका कामलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै विश्वविद्यालय निर्माणका लागि हरतरहले निरन्तर अघि बढिरहने बताए ।

    देवदहमा ९२ विगाहा जमिन प्राप्तीका लागि ६ वर्ष संघर्ष गरेको स्मरण गर्दै उनले देवदहबासीबीच गरिएका पूर्वाधार निर्माणका प्रतिवद्धताहरु पूरा गर्दै लगिने बताए । देवदहमा विशाल परियोजनाको निर्माण सुरु गरिएको भन्दै उनले स–सानो एजेण्डामा विकासमा अवरोधक नबन्न उनले आग्रह गरे ।

    विश्वविद्यालयले देवदहमा ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्राहलय, गेष्ट हाउस भिल्लासहितका संरचना बन्नेछन् । रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ । पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रष्टी बनाउने जनाएको छ ।

    रजिष्टार डा. तिलकराम आचार्यले पूर्वाधार निर्माणका लागि केही दातृ निकायले प्रतिवद्धता जनाइसकेको बताए । यो संरचना बन्दा विदेशी विद्यार्थीहरु पढ्नका लागि नेपाल आउने वातावरण सिर्जना हुने बताए ।

    सोमबार उद्घाटन गरिएको भवन झण्डै सवा ७ करोडको लागतमा ८ महिनामै तयार भएको हो । १ वर्ष निर्माण अवधि रहे पनि कम्पनीले समयावधि अगावै निर्माण सकेको भन्दै सम्मान गरिएको थियो ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहबासीले दिएको जमिनमा पूर्वाधार निर्माण सुरु भएको भन्दै खुसी व्यक्त गरे । विश्वविद्यालय सभाका सदस्य कपिल लामाले बौद्ध शिक्षासहितका कार्यक्रम सञ्चालन गरी विद्यार्थी संख्या बढाउदै लैजानुपर्ने बताए । डिन कार्यालयका कार्यकारी निर्देशक उकेशराज भुजुले समुदायलाई जोड्दै विश्वविद्यालयले देवदहमा शैक्षिकसहितका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

    देवदहमा भवन निर्माणसँगै लुम्बिनी बौद्ध विश्वविद्यालयका संरचना तीन स्थानमा विस्तार भएका छन् । लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको विश्वविद्यालयमा हाल ३० वटा शैक्षिक कार्यक्रम सञ्चालित छन् । विश्वविद्यालयमा २ हजार १३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

     

     

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij