यस वर्षको जलविन्दु सप्ताह १० मार्च २०२४ देखि १६ मार्च २०२४ अर्थात २०८० फागुन२७ देखि चैत्र ३ गतेसम्म 'जलविन्दु रहित संसारका लागि एक जुट होऔं' भन्ने नारासहित विश्वभर मनाइँदैछ ।
जलबिन्दु सम्बन्धि सामान्य जानकारी
जलबिन्दु भनेको एक प्रकारको आँखामा लाग्ने रोग हो । जसमा विस्तारै विस्तारै दृष्टि नशाको क्षति हुन्छ । यसमा छेउको दृिष्ट हराउँदै गएर अन्तमामानिसलाई दृष्टिविहीन बनाउन सक्छ । जलबिन्दुको प्रमुख कारण आँखाभित्रको चाँप बढ्नु हो । प्रायःआँखा भित्रको चाँप धेरै भएर दृष्टी नशाको क्षति हुन्छ । कहिलेकाही आँखाको चाप सामान्य अवस्थाहुँदा पनि जलविन्दु हुन सक्छ ।
एउटा स्वास्थ्य आँखा भित्रको तरल पदार्थ जुन गतिमा उत्पादन हुन्छ सोही गतिमा बगेर निस्कन्छ । यसरी बगेर जाने प्रणालीमा अवरोध उत्पन्न भएर तरल पदार्थको निकासीमा कमी वा निकास हुनै नसक्ने स्थितिमा आँखाको चाँप बद्दछ । यस प्रारम्भिक चरणमा जलबिन्दुको केही मात्र लक्षण देखिन सक्छ वा कुनै लक्षण नै नदेखिन सक्छ । तसर्थ यसले कुनै चेतावनी बिना नै दृष्टीबिहीन गराउन सक्छ । वास्तवमा जलबिन्दु भएको व्यक्तिलाई रोग लागेको थाहा नहुन पनि सक्दछ ।
जलबिन्दुको प्रकार
१.जन्मजातहुने जलबिन्दु
२.वयस्कमा हुने जलबिन्दु
- खुल्लाकोणिय जलविन्दु
- साँघुरो कोणिय जलविन्दु
३.अन्य अवस्थामा हुने जलविन्दु
लक्षण तथा संकेतहरु
१)आँखाको गेडी वा टाउको बेस्सरी वा मन्द गतिले दुखिरहने भएमा
२) पढ्दा वा नजिकको काम गर्दा लगाइने चश्माको पावर छिटोछिटो बदल्न‘ पर्ने भएमा
३) आँखा रातो भई आँखाको भित्री नानीको आकार सामान्यभन्दा ठुलो देखिएमा र छिटो छिटो दृष्टि घटेर गएमा
४) टुकी, लम्फा, बिजुलि बत्ती आदिमा हेर्दा बत्तीको वरिपरि इन्द्रेणी जस्तो रंगीचंगी वा चाक्लो घेरा वा टाटो देखिएमा
५) आफ्नो रगतको नातापर्नेव्यक्तिलाई जलबिन्दु भएमावा कोही जलबिन्दुको कारणबाट दृष्टिविहीन भएमा
६) मधुमेह अर्थात चिनीको रोग भएमा
७) भर्खर जन्मेका केटाकेटीहरुको आाँबाट आँसु बगिरहने, उज्यालोमा राम्ररी आँखा खोलेर हेर्न नसक्ने भएमा र आँखा सामान्य बच्चाको भन्दा ठुलो देखिएमा
जलबिन्दुको जोखिम क—कस्लाई हुन सक्छ त ?
- परिवारमा कसैलाई जलबिन्दु छ भने (वंशाणुगत) ।
- उमेर ४० बर्ष भन्दा बढी पुगेको मानिसलाई।
- मधुमेह रोग लागेको मानिसलाई ।
- लामो अवधिसम्म स्टेरोइडसको प्रयोग गरेको मानिसलाई ।
- आँखामा चोट पटक लागेको मानिसलाई ।
- मोटो चस्मा प्रयोग गर्ने मानिसलाई
कसरी थाहापाउने त ?
सर्वाेतम उपाय भनेको माथिउल्लेखित लक्षण वा जोखिममा परेका व्यक्तीले आँखा रोग विशेषज्ञद्धारा आँखाको सम्पुर्ण जाँच गराउनु नै हो । जसमा
(१)आँखाभित्रको चाप प्रेसर मापन गर्ने
(२) आँखाको तरल बग्ने प्रणालीको (कोण) साथै दृष्टी नशाको परिक्षण गर्ने कुराहरु पर्दछन ।
जलबिन्दुको शंका लागेमा अतिरिक्त परिक्षण जस्तै
(१)आँखाको पेरिफेरल वा छेउको दृष्टीको जाँच (भिजुयल फिल्ड टेष्ट )
(२) ओ.सि.टी पनि गरिन्छ ।
जलबिन्दुको उपचार विधिहरु
(१).आँखामा हाल्ने औषधीद्वारा : चिकित्सको सुझाव अनुसार औषधिको नियमित प्रयोग गर्नु पर्छ । मुख्य ध्यान दिनुपर्ने कुरा औषधीको प्रयोग गर्दा कुनै दिन वा कुनै पटक पनि भुल्नु हुँदैन ।
(२) लेजर प्रविधिः प्राय यो विधि आँखाको तरल पदार्थ बग्ने कोण साँघुरो भएको अवस्थामा गरिन्छ ।
(३) शल्यक्रिया : माथिका कुनै बिधिबाट आँखाको चाँपलाई कम गर्न सकिएनभने शल्यक्रिया गर्न सकिन्छ तर, कसैलाई शल्यक्रिया पछि पनि औषधी हाल्नुपर्ने हुन सक्छ ।
जलबिन्दुले गर्दा गुमेको दृष्टीलाई फिर्ता गर्न सकिदैन तसर्थ यसले मानिसलाई पुन : निको पार्न नसकिने गरी दृष्टीविहीन बनाउन सक्छ । आजैदेखि जलबिन्दुको बारेमा आफू पनि सचेत बनौ र अरुलाई पनि सचेत गराई दृष्टीविहीन हुनबाट बचौं र बचाऔं ।
श्राेतः सूचना शाखा, श्री रणा अम्बिका शाह आँखा अस्पताल