
आइतवार , चैत्र ४, २०८०
लुम्बिनी, ४ चैत ।
बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला आइतबारदेखि लुम्बिनीमा सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग र यूनेस्कोको आयोजनामा तीनदिने कार्यशाला सुरु भएको हो ।
कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनी संसारभरका बौद्वमार्गीहरूको आस्थाको केन्द्र भएकाले धार्मिक तीर्थालुहरुको आवश्यकतालाई पनि ख्याल गर्नुपर्ने बताए । उनले लुम्बिनी विश्व शान्ति र बौद्व शिक्षाको केन्द्र भएको बताउँदै पुरातत्वको संरक्षणसँगै बाद्धै शिक्षाका लागि ध्यान केन्द्र लगायतका न्यूनतम पूर्वाधारका लागि विज्ञ समितिले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सह–सचिव डा. सुरेश श्रेष्ठले जापानिज फन्ट ईन ट्रष्टको सहकार्य यूनस्कोद्वारा सञ्चालित परियोजनाले प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रक्रियामा सहयोग गरेको बताए । पुरातात्विक अनुसन्धान, पुरातात्विक स्थल तथा स्मारकहरूको संरक्षण, स्थल व्यवस्थापनका लागि विद्मान गुरूयोजनाको पुनरावलोकन एवं पुरातात्व विभाग र लुम्बिनी विकास कोषका कर्मचारीको क्षमता अभिवृद्विको काम यस अवधिमा भएको बताए ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरूद्दीन मुसलमानले लुम्बिनीको विकासमा स्थानीय सरकार सधै साथमा रहेको बताउँदै बाहिर क्षेत्रको पनि विकास गर्न आग्रह गरे ।
पुरातत्व विभागका महानिर्देशक शोभा प्रधानाङ्गा, यूनेस्को नेपाल प्रतिनिधि मिचाल क्राफ्टले बोलेका थिए । यूनेस्को (जापानीज फण्ड इन ट्रष्ट) अन्तर्गत प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको बैठक बस्दै आएको छ । लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्य मान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी र विदेशी विशेषज्ञ सम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समिति बनाइएको हो । यो समितिले वैचारिक रुपमा सम्पदा संरक्षणका सन्दर्भमा सुझाव दिने कार्य गर्छ ।
संयुक्त राष्ट्र संघको सहयोगमा केञ्जे टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदा संरक्षणका संरचना बनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा पनि त्यही गुरुयोजनालाई अनुसरण गर्नुपर्ने विगतदेखि नै सुझाव दिदै आइरहेको छ ।
समितिको छलफलमा विश्व सम्पदा केन्द्र यूनेस्कोका सम्पदा विज्ञ प्रो. रोलान्ड लिन, अन्तर्राष्ट्रिय विज्ञ प्रा.डा. रविन कनिङहम, प्रा. डा. यूकियो निसिमुरा, विज्ञ डा. काई वाईज, पुरातत्व विभागका महानिर्देशक शोभाग्य प्रधानाङ्गा, विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, पुरातत्वविद् बसन्त विडारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती लगायतको उपस्थिति रहेको छ ।
तीनदिने कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रमा हाल भइरहेका गतिविधि र सम्पदाको संरक्षण र भावी योजनाबारे छलफल हुने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।
कार्यशाला अघि अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको टोलीले आइतबार बिहान प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार, कपिलवस्तु संग्रालय र लुम्बिनीस्थित मायादेवी मन्दिर क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । कार्यशाला मंगलबार सकिने यूनेस्को कार्यक्रम सहायक निराना शाक्यले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij