
बुधवार , फाल्गुण ५, २०७७
बुटवल, ५ फागुन ।
खुल्ला सीमाका कारण व्यवसाय दिनप्रतिदिन धराशायी हुँदै गएको व्यवसायीहरुले गुनासो गरेका छन् । नेपालको सीमामा पर्ने भारतको सुनौली बजार नेपाली उपभोक्ताका कारण गुल्जार भए पनि नेपाली बजार भने सुनसान हुँदै गएको उनीहरुले बताए ।
बुटवल उद्योग वाणिज्य संघ अन्र्तगत गठित कपडा वस्तुगत समितिको आयोजनामा भएको भेटघाट तथा फेलोशिप कार्यक्रममा व्यवसायीहरुले खुला सीमाका कारण राजस्व तिरेर नेपालमा व्यवसाय गर्ने व्यवसायी मारमा परेको बताए ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले व्यवसायीको समस्या उजागर गर्ने तथा समस्या समाधानको लागि पहल तथा पैरवी गर्दै आए पनि सरकारले त्यसलाई नसुनेका कारण समस्या जस्ताको त्यस्तै रहेको बताए । उनले संघले अंगाडी सारेका कार्यक्रममा व्यवसायीको साथ तथा सहयोगको लागि समेत धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उत्तिकै साथ र सहयोगको लागि आग्रह गरे ।
त्यस्तै संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्लीले आफू संघको अध्यक्ष हुँदा नगदे बालीमा व्यवसायीकरण तथा दुग्ध प्रशोधन (डेरी) व्यवसायमा सुरु गरेको स्मरण गर्दै सुरुका दिनदेखि नै संघले अंगाडी सारेका योजनाले मूर्त रुप लिएको बताए । उनले समस्या पहिचान गरेर त्यसको पैरवी गर्दै जाँदा कुनै दिन समाधान हुने विश्वास दिलाए ।
त्यसै गरी संघका वरिष्ठ उपाध्यक्ष पूर्व अध्यक्ष नवराज श्रेष्ठ अध्यक्ष हुँदा नयाँ अवधारणा ल्याएर वस्तुगत समिति गठन गरिएको बताउँदै त्यसले सम्बन्धित व्यवसायको समस्या पहिचान र समाधानको लागि पहल पैरवी गर्न समेत सहज भएको बताए ।
कपडा वस्तुगत समितिका पूर्व अध्यक्ष तथा संघका कार्यसमिति सदस्य प्रकाश कुमार श्रेष्ठले विशेष गरेर खुला सीमाका कारण कपडा व्यवसायी बढी मारमा परेको बताउँदै यो समस्या समाधानको लागि विशेष पहल गर्नुपर्ने भनाई राखे । उनले उक्त समितिले संघले अगाडी सारेका कार्यक्रममा विशेष सहयोग गरेको समेत स्मरण गराउँदै त्यसको मुल्यांकन गर्न संघलाई आग्रह गरे । कार्यक्रम कपडा वस्तुगत समितिका सभापति त्रिबिक्रम श्रेष्ठको अध्यक्षता तथा सचिव सबिर मियाँको सञ्चालनमा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij